
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व ‘चाँडै समाप्त हुने’ दाबी गरे पनि तेहरानले भने लडाइँ आवश्यक परेसम्म जारी रहने सङ्केत दिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले मङ्गलबार यस्तो दाबीप्रति शङ्का व्यक्त गर्दै आफ्नो देश मिसाइल आक्रमण जारी राख्न तयार रहेको बताए।
तेहरानले अमेरिका–सहयोगी खाडी राष्ट्रहरूलाई लक्षित गरी नयाँ आक्रमण सुरु गरेको केही घण्टापछि ट्रम्पले द्वन्द्व छिट्टै अन्त्यतिर जाने दाबी गरेका थिए । तर अराघचीले एक अन्तर्वार्तामा पिबिएस न्युजलाई ‘गोलीबारी जारी छ र हामी तयार छौँ । आवश्यक परेसम्म हामी हाम्रो मिसाइल प्रयोग गर्दै आक्रमण जारी राख्नेछौँ’भन्दै सङ्घर्ष लम्बिन सक्ने सङ्केत दिए।
इरानको रिभोलुसनरी गार्ड्सले पनि ट्रम्पको टिप्पणीको जवाफ दिँदै युद्धको अन्त्य कसरी हुने भन्ने निर्णय आफूहरूले गर्ने चेतावनी दिएको छ । अराघचीले वासिङ्टनसँग वार्ता गर्ने सम्भावनालाई पनि अस्वीकार गरे । उनका अनुसार अमेरिकासँग कुरा गर्ने अनुभव ‘अत्यन्त कटु’ भएको छ र अघिल्ला वार्ताका क्रममा भएको अमेरिकी आक्रमणले तेहरानलाई थप अविश्वासी बनाएको छ।
उता ट्रम्पले सोमबार फ्लोरिडामा पत्रकार सम्मेलन गर्दै अभियान छोटो अवधिको हुने दाबी गरेका थिए । ‘यो चाँडै समाप्त हुनेछ र यदि फेरि सुरु भयो भने उनीहरू अझ बढी प्रभावित हुनेछन्’, उनले भने । उनले तेहरानले तेल आपूर्ति अवरुद्ध गरेमा ‘अकल्पनीय आकारको आक्रमण’ गर्ने चेतावनी पनि दिए।
ट्रम्पको यस्तो टिप्पणीले विश्व बजारमा केही राहत ल्याएको देखिएको छ । अघिल्लो दिन बढेको तेलको मूल्य घटेर करिब पाँच प्रतिशतले झरेको छ भने टोकियो र सियोलका सेयर बजार पनि मजबुत रूपमा खुलेका छन् । एक दिनअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघेको थियो ।



















