
काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र सरकारले तोकेको भन्दा बढी मूल्य लिने जोकोहीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै महासंघले केही विक्रेताले अनुचित मूल्य लिएर उपभोक्तालाई मर्कामा पारेको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । मध्यपूर्वमा देखिएको तनावका कारण भविष्यमा ग्यास अभाव हुन सक्ने डरले उपभोक्तामा चिन्ता पर्नु स्वाभाविक भए पनि यसको फाइदा उठाउनु अपराध भएको महासंघको ठहर छ ।
महासंघले देशभरका आमविक्रेतालाई संकटको समयमा जिम्मेवार भएर सेवा प्रवाह गर्न र कुनै पनि गैरकानुनी कार्यमा संलग्न नहुन अपिल गरेको छ । साथै, उपभोक्ता ठग्ने विक्रेता वा ग्यास उद्योगीहरूको पहिचान गरी तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन सरकारलाई आग्रह गरिएको छ ।
यस्ता गतिविधि गर्नेलाई कारबाही गरिनेबारे सबै जिल्ला संघमार्फत देशभरका विक्रेताहरूलाई जानकारी गराउन समेत महासंघले निर्देशन दिएको छ ।

























