
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–१ चकरी मकरी क्षेत्रमा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् ।
बुधबार राति करिब ९ बजे गस्तीमा रहेका प्रहरीमाथि सनिष तितुङले बियरको बोतल र बन्चरो प्रहार गरी आक्रमण गरेपछि प्रहरीले प्रतिकारस्वरूप गोली चलाएको हो । प्रहरीका अनुसार असई दिलबहादुर तामाङले एक राउन्ड गोली चलाउँदा तितुङको कोखामा लागेर उनी घाइते भएका हुन् ।
आक्रमणका क्रममा बन्चरो लागेर असई तामाङको हातमा समेत चोट लागेको छ । दुवै जनालाई उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पताल लगिएको थियो ।
गोली लागेका तितुङलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

























