
विराटनगर । विराटनगरमा पछिल्लो एक सातादेखि खाना पकाउने ग्यासको अभाव चर्किएपछि उपभोक्ताहरू समस्यामा परेका छन् ।
रोजगारीका क्रममा सप्तरीबाट आएका शंकर परिहस्त ग्यास नपाउँदा निकै मर्कामा परेका छन् । नियमित रूपमा ग्यास साट्दै आएको डिलरले ग्यास दिन्छु भने पनि अहिलेसम्म नपाएको उनले गुनासो गरे । ग्यास नहुँदा कोठामा खाना पकाउन नपाएको र दैनिक होटलमा खाएर साध्य नहुने उनले बताए ।
यस्तै समस्या विराटनगर-१२ मा होटल सञ्चालन गर्दै आएका सुमन निरौलाको पनि छ । होटलमा अब एउटा मात्र सिलिन्डर बाँकी रहेको र डिलरले पठाउँछु भने पनि अहिलेसम्म नआइपुगेको उनले बताए । बजारमा ग्यास अभावको हल्लाले आफूहरू जस्ता काम गरेर खानेलाई निकै मर्का पर्ने उनको भनाइ छ । होली पर्वपछि विराटनगरमा ग्यासको आपूर्ति सहज हुन सकेको छैन ।
नेपाल ग्यास विक्रेता संघ मोरङका अध्यक्ष सुनिल बोहराले बजारमा पूर्ण अभाव भन्दा पनि आपूर्तिमा केही कमी आएको बताए । पहिले दैनिक ५ सय सिलिन्डर पठाउने कम्पनीहरूले अहिले १ सय ५० देखि २ सय वटा मात्र उपलब्ध गराइरहेकाले समस्या देखिएको उनले बताए ।
बिहीबार बेलुकाबाट आपूर्ति सहज हुने आश्वासन कम्पनीहरूले दिएको उनले जानकारी दिए । मध्यपूर्वी देशहरूमा जारी युद्धका कारण मानिसहरूले घरमा ग्यास स्टक राख्न थालेकाले पनि अभाव देखिएको उनको भनाइ छ । एक घरमा ४ देखि ६ वटासम्म सिलिन्डर राख्ने प्रवृत्तिले समस्या थपेको उनले बताए ।
विराटनगर-१० पिपल चोकका ग्यास विक्रेता भोजराज दाहालका अनुसार माग ह्वात्तै बढेकाले आपूर्ति मिलाउन कठिन भएको छ । सामान्यतया मासिक ७-८ सय सिलिन्डर खपत हुने क्षेत्रमा फागुन महिनामा १ हजारभन्दा बढी बिक्री भइसकेको उनले जानकारी दिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले ग्यास अभावबारे सरोकारवाला निकायहरूसँग छलफल भइरहेको बताए । ग्यास कम्पनी, पेट्रोलियम डिलर्स एशोसिएसन र विक्रेता संघसँग मिलेर बजारमा ग्यास सहज बनाउन काम गरिरहेको उनले उल्लेख गरे ।
विराटनगरमा १५० भन्दा बढी ग्यास डिलरहरू रहेका छन् । यहाँ कोशी, प्रिमा, सुविधा, रिजाल, कन्काई, मेची, श्रीशक्ति, कामाख्या र पराजुली लगायतका ग्यास बिक्री हुने गर्दछ । संघका अनुसार विराटनगरमा मासिक करिब ३० हजार सिलिन्डर ग्यासको माग रहेको छ । हाल प्रतिसिलिन्डरको मूल्य १ हजार ९ सय १० रुपैयाँ तोकिए पनि डेलिभरी शुल्कबापत थप ५० देखि १०० रुपैयाँसम्म लिने गरिएको छ ।

























