
विराटनगर । अदालतबाट ५ वर्ष कैद र ४४ लाख ६२ हजार रूपैयाँभन्दा बढी जरिबानाको फैसला सुनाइएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी मोरङबाट पक्राउ परेका छन् ।
रतुवामाई नगरपालिका–५ का ४० वर्षीय साजाहक मियाँ बिहीबार दिउँसो पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले गाउँघरमै लुकिछिपी बसेको अवस्थामा दिउँसो २ः४५ बजेतिर मियाँलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत मोरङले २०८० साल चैत ७ गते मियाँलाई ५ वर्ष कैद र ४४ लाख ६२ हजार ४ सय रूपैयाँ जरिबाना हुने फैसला गरेको थियो । अदालतले दोषी ठहर गरेपनि कैद सजाय र जरिबाना भुक्तान नगरिकन मियाँ फरार रहेको पाइएको जानकारी लामिछानेले दिए ।
त्यस्तै, चोरी मुद्दाका अर्का प्रतिवादी पनि पक्राउ परेका छन् । चोरी मुद्दामा ४ दिन कैद र १ हजार रूपैयाँ जरिबानाको फैसला भएका रतुवामाई–५ का २४ वर्षीय अजय कटवाल पक्राउ परेका हुन् ।
अदालतले कटवाललाई २०७९ साल मंसिर १४ गते दोषी ठहर गर्दै कैद तथा जरिबानाको फैसला गरेको थियो । पक्राउ परेका दुवै जनालाई अदालतमा पेस गरिने प्रहरीले जनाएको छ । प्रहरीले पेस गरेपछि अदालतले उनीहरुलाई सजाय भुक्तानका लागि कारागार चलान गर्ने छ ।

























