
काबुल । पाकिस्तानले शुक्रबार बिहान अफगानिस्तानको राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर हवाई आक्रमण गरेको छ। तालिबान सरकारका अनुसार यस आक्रमणमा बालबालिकासहित कम्तीमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी विमानहरूले कान्दाहार विमानस्थल नजिकै रहेको निजी एयरलाइन्स ‘काम एयर’ को इन्धन डिपोमा समेत प्रहार गरेको जानकारी दिए। उक्त डिपोबाट नागरिक विमान र संयुक्त राष्ट्रसङ्घका उडानहरूलाई इन्धन आपूर्ति हुँदै आएको थियो। मुजाहिदले पाकिस्तानी आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसको ‘जवाफ दिने’ चेतावनी दिएका छन्।
पछिल्लो तीन हप्तादेखि दुई छिमेकी मुलुकबीच सैन्य तनाव उत्कर्षमा पुगेको छ। पाकिस्तानले आफ्नो कारबाही प्रतिबन्धित पाकिस्तानी तालिबान (टिटिपी) लाई लक्षित गरिएको दाबी गरे पनि काबुलले भने सर्वसाधारणका घरहरूमा आक्रमण भएको बताएको छ। इस्लामाबादले हालको अवस्थालाई अफगानिस्तानसँगको ‘खुला युद्ध’ जस्तै रहेको व्याख्या गरेको छ।
यसैबीच, चीनका विशेष दूत युए सियाओओङले काबुल र इस्लामाबादको भ्रमण गरी क्षेत्रीय सुरक्षाबारे छलफल गरेका छन्। पाकिस्तानले अफगान भूभागबाट सञ्चालित आतङ्कवादी समूहलाई नियन्त्रण नगरेसम्म सैन्य कारबाही जारी रहने चेतावनी दिएको छ। पछिल्लो सैन्य टकरावले गत अक्टोबरमा भएको युद्धविरामलाई समेत भङ्ग गरिदिएको छ।


















