
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।
काठमाडौं उपत्यकामा एलपीजी ग्यासको अभाव हुँदा उपभोक्तामा चिन्ता र त्रास सिर्जना भएको भन्दै आयोगले चासो व्यक्त गरेको हो । आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेका अनुसार मध्यपूर्वको परिस्थितिबीच सञ्चार माध्यममा ग्यास आपूर्तिमा समस्या भएको विषयमा समाचारहरू सार्वजनिक हुँदा उपभोक्ताले आवश्यकता भन्दा बढी भण्डारण गर्न थालेका छन् ।
यसैबीच, कतिपय व्यवसायीले समेत कृत्रिम अभाव सिर्जना गर्ने गरेको तथ्य आयोगले पाएको छ । ‘अभावको विषयले नेपालको संविधानको धारा ४४, उपभोक्ता संरक्षण ऐन २०७५ र अन्तर्राष्ट्रिय आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको प्रचलनमा असहजता निम्त्याएको छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ ।
आयोगले सरकारलाई पेट्रोलियम पदार्थको वितरण सहज बनाउन, कृत्रिम अभावको कानुनी दायरामा कारबाही गर्न, अनावश्यक भण्डारण नियमन गर्न र अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएको छ । आयोगले उपभोक्ताको अधिकार संरक्षण र आपूर्तिमा पारदर्शिता कायम राख्ने विषयमा पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।


























