
भैरहवा । भैरहवा क्षेत्रमा एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ता मर्कामा परेका छन् । सरकारी तथ्यांकअनुसार ग्यासको आयात नियमित भइरहे पनि बजारमा भने उपभोक्ताले सहज रूपमा सिलिन्डर पाउन सकिरहेका छैनन् ।
उपभोक्ताका अनुसार एउटा ग्यास सिलिन्डर लिनका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था बनेको छ । ग्यास बिक्रेताले मौज्दात सकिएको भन्दै धेरै उपभोक्तालाई फर्काइदिने गरेका छन् । भैरहवाका प्रदीप ज्ञवालीले लामो समय लाइनमा बस्दा पनि ग्यास नपाउँदा दैनिक भान्छा चलाउन समस्या भएको बताए ।
बिक्रेताहरुले भने कम्पनीबाट पर्याप्त ग्यास नआउँदा मागअनुसार आपूर्ति गर्न नसकिएको दाबी गरेका छन् । तर, भैरहवा भन्सार कार्यालयले भने ग्यास आयात नियमित भइरहेको जनाएको छ ।
प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार केही दिनअघि निर्वाचनका कारण आयातमा सामान्य समस्या देखिए पनि अहिले दैनिक रूपमा ग्यास बोकेका बुलेट ट्यांकर नेपाल भित्रिइरहेका छन् । स्थानीय विक्रेताका अनुसार सम्भावित अभावको डरले उपभोक्ताले आवश्यकभन्दा बढी ग्यास मौज्दात राख्न थालेपछि बजारमा दबाब बढेको छ ।
यसका साथै सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ ग्यास सिलिन्डर लैजाने प्रयाससमेत हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले सीमाबाट हुने अवैध ओसारपसार रोक्न निगरानी कडा पारिएको जनाएको छ ।
प्रहरीले बेलहिया नाकाबाट भारततर्फ लैजाँदै गरेको तथा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको केही ग्यास सिलिन्डर नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

























