
काँकडभिट्टा । पूर्वी नेपालको काँकडभिट्टा नाका भएर चालु आर्थिक वर्षको ८ महिनामा ६ हजारभन्दा बढी विदेशी नेपाल प्रवेश गरेका छन् ।
तेस्रो मुलुकबाट ६ हजार ७ सय ९१ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईका अनुसार आर्थिक वर्ष २०८२–०८३ को साउनदेखि फागुनसम्म अमेरिका, बेलायत, भुटानलगायत विभिन्न देशका पर्यटकले नेपाल प्रवेश गर्ने क्रममा काँकडभिट्टा नाकाको प्रयोग गरेका हुन् ।
कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार साउन महिनामा २ सय, ८४, भदौमा २ सय १९, असोजमा ५ सय ४१, कात्तिकमा ६ सय २४ र मंसिरमा ८ सय ७३ जना पर्यटक नेपाल आएका छन् । मंसिरपछि पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ ।
पुसमा १ हजार ८ सय ५०, माघमा १ हजार ३ सय ९५ र फागुनमा १ हजार ५ सय जना पर्यटक काँकडभिट्टा नाका हुँदै नेपाल आएको भट्टराईले बताए । सोही अवधिमा विदेशमा अध्ययन, रोजगारी तथा अन्य प्रयोजनले बसोबास गरिरहेका ३ हजार १ सय ३३ जना नेपाली नागरिक पनि यही नाका प्रयोग गरेर स्वदेश फर्किएको जानकारी उनले दिए ।
पछिल्लो ८ महिनाको अवधिमा अध्यागमन प्रक्रिया पूरा गरेर काँकडभिट्टा हुँदै नेपालबाट विदेश गएका तेस्रो मुलुकका पर्यटकको संख्या ६ हजार ५ सय ५२ रहेको छ । सोही अवधिमा १ हजार ८ सय ४७ जना नेपाली नागरिक पनि यही नाका हुँदै विदेश गएका छन् ।
गत आर्थिक वर्ष २०८१–०८२ मा भने यही नाका प्रयोग गरी तेस्रो मुलुकका ८ हजार ७ सय २३ जना पर्यटक नेपाल भित्रिएका थिए ।

























