
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ बिन्दुमा कायम भएको छ। बजारमा उत्साह देखिँदा कारोबार रकमले पनि १२ अर्बको आँकडा पार गरेको छ।
नेप्सेका अनुसार आज ३४० कम्पनीको तीन करोड ४८ लाख ५२ हजार ७६० कित्ता सेयर एक लाख छ हजार १४० पटक खरिद–बिक्री हुँदा कूल १२ अर्ब तीन करोड ४४ लाख ६ हजार ३२८ रुपैयाँ बराबरको कारोबार भएको छ। आज जलविद्युत् समूहमा सबैभन्दा बढी १ दशमलव ५९ प्रतिशतको वृद्धि देखिएको छ भने बैङ्किङ, विकास बैङ्क, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहका उपसूचक पनि बढेका छन्।
यद्यपि, वित्त, होटल तथा पर्यटन, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा, व्यापार र अन्य समूहको उपसूचकमा भने गिरावट आएको छ। आजको कारोबारमा रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड र सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा एनआइसी एसिया ग्रोथ फन्ड–२ रहेको छ, जसको सेयर मूल्य ४ दशमलव ७४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज रिदी पावर कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। सो कम्पनीको ५६ करोड ३७ लाख ६१ हजार ७२५ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सेयर सङ्ख्याका आधारमा भने शिवश्री हाइड्रोपावर लिमिटेडको सबैभन्दा धेरै १९ लाख २३ हजार ७४ कित्ता सेयर कारोबार भएको छ।

























