
विराटनगर । उद्योग संगठन मोरङले निर्माण क्षेत्रको समग्र विकास र उपभोक्ता सचेतनालाई प्राथमिकता दिँदै विराटनगरमा पहिलो पटक क्षेत्र विशेष ‘घर निर्माण प्रदर्शनी २०८२’ (सीआईएम होम बिल्ड एक्जिबिसन २०२६) आयोजना गर्ने भएको छ ।
उद्योग संगठनले विराटनगरमा पत्रकार सम्मेलन गरी व्यवसाय तथा व्यवसायदेखि उपभोक्ता नेटवर्किङलाई प्रवद्र्धन गर्दै निर्माण व्यवसाय क्षेत्रलाई चलायमान बनाउन प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिएको हो ।
संगठनका अध्यक्ष नन्दकिशोर राठीले चैत १२ देखि १६ गतेसम्म विराटनगरस्थित जैन भवनमा ‘सुरक्षित घर, स्मार्ट जीवन’ भन्ने मूल नाराका साथ प्रदर्शनी आयोजना हुने बताए । निर्माण क्षेत्रका नेपाली औद्योगिक उत्पादन तथा सेवाहरूको प्रवर्द्धन, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने अभिप्रायले घर निर्माण सम्बन्धी प्रदर्शन गर्न लागेको राठीले बताए ।
वर्तमान समयमा संकुचित बनेको बजारलाई चलायमान बनाउन र निर्माण क्षेत्रसँग सम्बन्धित दक्ष प्राविधिक, श्रमिक, परामर्शदाता र उत्पादकहरूलाई एउटै थलोमा ल्याउन यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ । घर निर्माण गर्दा कस्तो सामग्री छान्ने, कसरी सुरक्षित र भूकम्प प्रतिरोधी घर बनाउने र पुराना घरको जीर्णोद्धार कसरी गर्ने भन्ने विषयमा जनचेतना फैलाउनु यसको उद्देश्य रहेको प्रदर्शनीका संयोजक सुरेन्द्र गोल्छाले बताए ।
घर निर्माणको जगदेखि आन्तरिक सजावटसम्मका सामग्री र सेवाहरूसहित प्रदर्शनीमा ७५ भन्दा बढी स्टलहरू देख्न पाइने छ । प्रदर्शनीमा विज्ञहरुले दैनिक रूपमा २ घण्टा वाटर रुफिङ, सोलार होम प्रणाली, धमिरा नियन्त्रण, आधुनिक किचन प्रविधि, भूकम्प प्रतिरोध र आगोबाट सुरक्षा जस्ता विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।
प्रदर्शनीमा प्रवेश निःशुल्क रहेको आयोजकले जनाएको छ । उद्योग संगठन मोरङले यस प्रदर्शनीको माध्यमबाट नेपाली निर्माण सामग्रीको प्रवर्धन र आयात प्रतिस्थापन गरी देशलाई आत्मनिर्भर बनाउने दिशामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ ।

























