
काठमाडौं । पछिल्लो समय ह्वाट्सएप खाता ह्याक गरी पैसा माग्ने र ठगी गर्ने घटनाहरु तीव्र रूपमा बढेका छन् ।
नेपाल प्रहरीको साइबर ब्यूरोले ह्वाट्सएप ठगीको नयाँ रुप देखा परेको भन्दै नागरिकहरुलाई सतर्क रहन आग्रह गरेको छ । प्रहरीका अनुसार ह्याकरहरुले व्यक्तिको ह्वाट्सएप खाता नियन्त्रणमा लिएर साथीभाइ र आफन्तलाई सन्देश पठाउँछन् ।
आफू अप्ठ्यारोमा परेको वा बैंकिङ समस्या आएको भन्दै पैसा माग्ने, क्यूआर कोड पठाएर ठगी गर्ने प्रवृत्ति बढेको प्रहरीले जनाएको छ । साइबर ब्यूरोले यस्ता सन्देशमा तत्काल विश्वास नगर्न र पैसा पठाउनुअघि सम्बन्धित व्यक्तिलाई प्रत्यक्ष फोनमार्फत पक्का गरेर मात्रै अघि बढ्न आग्रह गरेको छ ।
ह्वाट्सएपको सुरक्षाका लागि दुई चरणको प्रमाणीकरण राख्नुपर्ने, ओटीपी कसैसँग सेयर गर्न तथा शंकास्पद लिंक वा फाइल खोल्न नहुने कुरामा पनि ब्यूरोले सचेत गराएको छ । सावधानी अपनाएमा ह्वाट्सएपमार्फत हुने ठगी र व्यक्तिगत रकमको क्षति रोक्न सकिने प्रहरीले जनाएको छ ।
नागरिकले आफ्नो खाता सुरक्षित राख्ने उपाय अपनाउनु नै अहिलेको आवश्यकता भएकोमा ब्यूरोको जोड छ ।


























