
काठमाडौं । सस्तोमा विदेश घुमाउने भन्दै ठगी गरेको आरोपमा ६ जना भारतीय नागरिकसहित ७ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको कन्चनरुप नगरपालिका–१२ का विवेक रेग्मी र ६ जना भारतीय नागरिक रहेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं एसपी मनोहरप्रसाद भट्टका अनुसार रेग्मीसहित भारतीय नागरिकहरु हुसेन सैयद, साजिद ओमर सैयद, महम्मद इमरान, मिर खालिद हुसेन, रजाक महम्मद र समदा गिरीलाई पक्राउ गरिएको छ ।
पक्राउ परेकाले ३ सय २८ जनाबाट २ करोड ७२ लाख ६५ हजार ५७४ रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रेग्मीले गत कात्तिक १७ गते आफ्नो नाममा ‘सिर्तेल होलिडेज’ नामक कम्पनी दर्ता गरी सञ्चालनमा ल्याएका थिए । कम्पनीले ३० जना नेपाली कर्मचारी नियुक्त गरी नोभेम्बर १६ देखि काम सुरु गरेको थियो ।
कम्पनीले स्टाफ तथा ग्राहकलाई भारतको हैदराबादमा प्रधान कार्यालय रहेको बताउँदै विभिन्न स्थानमा स्टल राखेर लट्री अफरमा सहभागी गराउने फारम भर्न लगाएको पाइएको छ । प्रहरीका अनुसार फारम भर्ने सबैलाई फोन गरी लट्री परेको भनी कार्यालयसम्म बोलाइ अफर तत्काल वैध हुने झुक्यानमा पारेर कम्पनीको खातामा पैसा पठाउन लगाइएको थियो ।
सस्तो विदेश भ्रमण गराउने नाममा पैसा उठाएर ठगी गरिएको प्रहरीको भनाइ छ । भुक्तानी गरिसकेका व्यक्तिहरुलाई कुनै पनि देश भ्रमण नगराइएको र पैसा फिर्ता माग्दा विभिन्न बहानामा इन्कार गरिरहेको पाइएको जानकारी एसपी भट्टले दिए । उनका अनुसार पक्राउ परेकामाथि कारबाही अघि बढाउन थप अनुसन्धान सुरु गरिएको छ ।

























