
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकामा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले संकटकालीन सुरक्षा रणनीति अपनाएको छ ।
४ नम्बर वडाको लेयर्स कुखुरा फार्ममा बर्डफ्लु देखिएपछि संक्रमण अन्यत्र फैलिन नदिन नगरपालिकाले कुखुरा र अण्डा ओसारपसारमा पूर्ण प्रतिबन्ध गरेको हो । नगरपालिकाले ७ बुँदे सूचना जारी गर्दै बर्डफ्लु संक्रमण फैलिएको हुँदा कुखुराजन्य वस्तु ओसारपसार नगर्न र उच्च सतर्कता अपनाउन भनेको छ ।
संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जारी गरेको ७ बुँदे सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, मासु, दाना र फार्ममा प्रयोग हुने कुनै पनि उपकरण ओसारपसार गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।
नगरपालिकाले कुखुरापालक कृषकहरूलाई आफ्ना फार्महरूमा बाहिरी व्यक्तिको प्रवेशलाई पूर्णतः निषेध गर्न निर्देशन दिएको छ । फार्मको प्रवेश र निकास बिन्दुमा जैविक सुरक्षाका उपायहरू चुना, फिनेल, स्यानिटाइजर वा साबुन पानीको प्रयोग अनिवार्य गरिएको छ ।
सर्वसाधारणको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै नगरपालिकाले बिरामी वा अचानक मरेका कुखुराहरूलाई खाली हातले नछुन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ । यदि कतै कुखुराहरू असामान्य रूपमा बिरामी परेमा वा मरेमा तुरुन्तै सम्बन्धित वडा कार्यालय वा नगरपालिकाको पशुपन्छी विकास शाखामा खबर गर्न भनेको छ ।
संक्रमण पुष्टि भएका र आसपासका शंकास्पद फार्मका कुखुराहरूलाई प्रचलित कानुन र मापदण्ड बमोजिम सुरक्षित रूपमा नष्ट नगरपालिकाले अनुरोध गरेको छ । यसका साथै स्थानीय बजार र मासु पसलहरूमा समेत कडा अनुगमन गरिने र नियम उल्लंघन गर्नेलाई कारबाही गरिने चेतावनी दिइएको छ ।
बर्डफ्लु मानव स्वास्थ्यका लागि समेत घातक हुन सक्ने भएकाले यसको नियन्त्रणमा सम्पूर्ण नगरवासी, व्यवसायी र उपभोक्ताहरूको पूर्ण सहयोगको अपेक्षा नगरपालिकाले गरेको छ । ‘यो समय संयम र सचेत रहने समय हो, सानो लापरबाहीले ठुलो क्षति निम्त्याउन सक्छ’, नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।
यसअघि पनि विभिन्न समयमा बर्डफ्लुको चपेटामा पर्दै आएको यो क्षेत्रमा यस पटक प्रशासनले सुरुवाती चरणमै कडाइ गरेर संक्रमणलाई सीमित राख्ने लक्ष्य लिएको छ ।




















