
विराटनगर । विराटनगरमा जारी ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगितामा सुनसरी विजयी भएको छ । प्रतियोगिताको दोस्रो दिनको खेलमा सुनसरीले मोरङलाई पराजित गरेको हो ।
नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा सुनसरीले मोरङलाई २१ रनले हराउँदै ३ खेलको सिरिज १–१ को बराबरी बनाएको छ । यसअघि बिहीबार भएको खेलमा मोरङले सुनसरीलाई पराजित गरेको थियो । प्रतियोगिताको उपाधि जितका लागि शनिबार दुवै टोली खेल्ने छन् ।
सुनसरीले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ३४ ओभर ४ बलमा अलआउट हुँदै १ सय २ रनको चुनौती प्रस्तुत गर्यो । आशिष मण्डल २५ रन, रोशन घिमिरे खत्रीले १६ रन, अफान ताहिरले १३ रन र आकाश सराफले १० रन बनाए । मोरङका कृष शर्माले ५ विकेट, कृतिक कामतले ३ विकेट तथा महबुब इराकी र अमर यादवले समान १–१ विकेट लिए ।
मोरङले १ सय ३ रन विजयी लक्ष्य पछ्याउने क्रममा २३ ओभर २ बल खेल्दै सबै विकेटको क्षतिमा ८१ रनमै समेटियो । अटल साहले २२ रन र आइन्सटाइन रिजालले १३ रन मात्रै बनाए । प्लेयर अफ म्याच सुनसरीका कविराज खत्रीले ५ विकेट र रविन मण्डलले ३ विकेट लिए ।

























