
पोखरा । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत पाँचौँ प्रतियोगिता तथा २६ औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन् । शुक्रबार भएको खेलमा इभन–पार ६९ खेलेका भुवनले समग्रमा ३–अन्डर २ सय ४ को स्कोरमा सञ्जय लामालाई एक स्ट्रोकले हराउँदै उपाधिमा ह्याट्रिक गर्न सफल रहे ।
उनको यो करियर १४ औँ उपाधि हो । उपाधिसँगै उनले नगद १ लाख ७० हजार प्राप्त गरे।
यसअघि यो सिजनमा उनले सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप र सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका थिए । आज ४–अन्डर ६५ खेल्दै समग्रमा २–अन्डर २ सय ५ को स्कोरमा सञ्जय दोस्रो भए । उनले नगद १ लाख २५ हजार हात पारे । एमेच्योर राहुल विश्वकर्माले ४–अन्डर ६५ को स्कोर कार्ड बनाए । समग्रमा १–अन्डर २ सय ६ सहित तेस्रो भए । धरानका गल्फर शुक्रबहादुर राईले ४–ओभर ७३ मा अन्तिम दिनको खेल सकाउँदा समग्रमा २–ओभर २ सय ९ सहित चौथो भए ।
प्रोतर्फ तेस्रो भएका उनले नगद १ लाख आफ्नो नाममा लेखाए । जयराम श्रेष्ठले आज ६–ओभर ७५ मा अन्तिम दिनको खेल सकाउँदा समग्रमा ७–ओभर २ सय १४ सहित पाँचौँ स्थानमा चित्त बुझाए । उनले ८२ हजार प्राप्त गरे । पोखराका घरेलु गल्फर भुबहादुर गुरुङ छैटौँ भए । उनले समग्रमा ८–ओभर २ सय १५ स्कोर बनाए । आजको खेल ३–ओभर ७२ मा पूरा गरे । उनले नगद ७२ हजार पाए । समग्रमा १०–ओभर २ सय १७ सहित भुवनकुमार रोक्का र दिनेश प्रजापतिले संयुक्त रूपमा सातौँ स्थान बाँडे । भुवनले ३–ओभर ७२ र दिनेशले २–अन्डर ६७ को स्कोर निकाले । उनीहरूले समान ६५ हजार प्राप्त गरे ।
यस्तै, समग्रमा १२–ओभर २ सय १९ बनाएका तोरणविक्रम शाही नवौँ हुँदै ५१ हजारको हकदार बने । आज उनले २–ओभर ७१ मा खेल सकाए । १३–ओभर २ सय २० स्कोर बनाएका रमेश अधिकारी र सुरेश तामाङ संयुक्त रूपमा दसौँ भए । आज रमेशले ७–ओभर ७६ र सुरेशले ६–ओभर ७५ मा खेल सकाए । उनीहरूले ४४ हजार नगद पुरस्कार हात पारे ।
भुवनसँग अन्तिम १८ होलको खेल सकिँदा मात्र १ स्ट्रोकको अग्रता थियो । तर शुक्र र जयरामले सुरुवातदेखि नै खेल बिगार्दा भुवनलाई सजिलो भयो । छैटौँ होलमा बोगी खेपेका उनले आठौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन इभन–पार ३४ मा सकाए । यसपछि बाँकी नौ होलमा शुक्र र जयरामले टक्कर दिन नसके पनि सञ्जय लामाले चुनौती दिएका थिए ।
तर, भुवनले ब्याक नाइन पनि इभन–पार ३५ मा सकाउँदै एक स्ट्रोकको जित निकाल्न सफल भएका हुन् । भुवनले १० औँ र १३ औँ होलमा बर्डी तथा १२ औँ र १७ औँ होलमा एक–एक सट खेर फाले ।
सञ्जयले फ्रन्ट नाइन १–अन्डर ३३ मा सकाउने क्रममा पहिलो, सातौँ र आठौँ होलमा बर्डी प्रहार गरे । दोस्रो र छैटौँ होलमा एक–एक सट खेर फाले । ब्याक नाइनमा उनले पाँच वटा होलमा बर्डी प्रहार गरे । १० औँ होलमा र यसपछि १४ देखि १७ होलसम्म लगातार चार बर्डी प्रहार गरे । तर १२ औँ र १८ औँ होलको बोगीले ब्याक नाइन ३–अन्डर ३२ मा पूरा गरे ।
एमेच्योर राहुलले सातौँ होलको बोगीका विरुद्ध पहिलो र पाँचौँ होलमा एक–एक सट बचाए । फ्रन्ट नाइन १–अन्डर ३३ खेले । यसपछि ४–पारको १३ औँ होलमा इगलको सफलता प्राप्त गरेका उनले १६ औँ र १७ औँ होलमा बर्डी प्रहार गर्दा १८ औँ होलमा बोगी खेपे। उनले एमेच्योरतर्फको उपाधि जिते । किशन परियारलाई २२ स्ट्रोकले हराए । किशन दोस्रो भए । उनले समग्रमा २१–ओभर २ सय २८ को नतिजामा प्रतियोगिता पूरा गरे ।
विजयी खेलाडीहरूलाई सूर्य नेपालका डेपुटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीको सहभागिता रहेको थियो ।

























