निफको प्रि-इभेन्ट सम्पन्न, अब मुख्य महोत्सवको तयारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ८, आइतबार ०९:११

काठमाडौं। नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का प्रि-इभेन्टका सम्पूर्ण कार्यक्रमहरू सम्पन्न भएका छन्। गैरीधारास्थित कान्तिपुर थिएटरमा शुक्रबार साँझ आयोजित ‘सर्ट फिल्म साँझ’ सँगै प्रि-इभेन्ट चरण पूरा भएको हो।

उक्त कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र निफका अघिल्ला संस्करणमा पुरस्कृत सर्ट फिल्महरू ‘जुलुङ्गो’, ‘बेयर ट्री इन द मिस्ट’, ‘जुन्को’ र ‘चिसो घर’ प्रदर्शन गरिएको थियो। फिल्म प्रदर्शनपछि दर्शकहरूले राखेका जिज्ञासाको जवाफ सम्बन्धित निर्माण पक्षले दिएका थिए। यसअघि निफले प्रि-इभेन्ट अन्तर्गत ‘हर सिनेमा हर भ्वाइस’ र ‘द न्यू वेभ इन नेपाली सिनेमा’ शीर्षकमा दुईवटा अन्तरक्रियात्मक कार्यक्रम समेत आयोजना गरेको थियो।

Advertisement

निफको तयारी अब अन्तिम चरणमा पुगेको अध्यक्ष केपी पाठकले बताए। प्रि-इभेन्ट सफलतापूर्वक सम्पन्न भएको र १९ गतेबाट सुरु हुने मुख्य महोत्सवका लागि सबै तयारी करिब पूरा भइसकेको उनले जानकारी दिए। केही दिनमै निफको आधिकारिक सामाजिक सञ्जाल र वेबसाइटमार्फत विस्तृत कार्यक्रम तालिका सार्वजनिक गरिने पाठकले बताए।

यस पटकको महोत्सवमा पाँच दिने एआई (आर्टिफिसियल इन्टेलिजेन्स) फिल्म वर्कसप समेत समावेश गरिएको छ। फिल्म निर्माणको प्रि-प्रोडक्सन, प्रोडक्सन र पोस्ट प्रोडक्सनमा एआईको प्रयोग कसरी गर्ने भन्ने विषयमा यो वर्कसप केन्द्रित हुनेछ। इच्छुक व्यक्तिहरूले चैत ११ (मार्च २५) सम्म आवेदन दिएर यसमा सहभागी हुन सक्नेछन्।

त्यस्तै, नयाँ लेखकहरूलाई लक्षित गर्दै ‘निफ फिचर पिच’ कार्यक्रम पनि राखिएको छ। यसमा सर्ट फिल्म बनाएका युवा मेकरहरूले आफ्ना फिचर फिल्मको कथा निर्माताहरूलाई सुनाउने अवसर पाउनेछन्। यस वर्षको निफमा ४० देशका ८८ फिल्म प्रदर्शन गरिनेछ भने विभिन्न विषयमा १० वटा अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन हुने आयोजकले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.