
दमक । झापामा चार वर्षको अन्तरालपछि पुनः कुखुरामा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । छिमेकी मोरङको सुन्दरहरैँचा र उर्लाबारीमा संक्रमण पुष्टि भएसँगै झापाको दमकमा पनि यसको असर देखिएको हो ।
दमक नगरपालिका–१० मा रहेको दमक एग्रिकल्चर फार्म प्रा.लि.का कुखुरामा घातक प्रकृतिको बर्डफ्लू संक्रमण फेला परेसँगै स्थानीय कुखुरा व्यवसायीहरूमा त्रास थपिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईका अनुसार फार्ममा अचानक कुखुरा मर्न थालेपछि सञ्चालकले नमुना परीक्षणका लागि विराटनगरस्थित प्रयोगशालामा पठाएका थिए ।
त्यहाँबाट थप परीक्षणका लागि काठमाडौँको केन्द्रीय प्रयोगशालामा नमुना पठाइएको थियो । शनिबार प्राप्त रिपोर्टले बर्डफ्लू संक्रमण पुष्टि गरेपछि सम्बन्धित निकायहरू सक्रिय बनेका छन् ।
प्रमुख भट्टराईका अनुसार आइतबार नै कोशी प्रदेश सरकारको ‘रेपिड रेस्पोन्स टिम’ प्रभावित क्षेत्रमा खटाइसकिएको छ । उक्त टोलीले प्रारम्भिक अध्ययन गर्दै फार्मको चार किल्ला निर्धारण गरेको छ । कुखुराको कुल संख्या, मरेको संख्या र जोखिमको स्तरबारे विस्तृत विवरण संकलन गर्ने काम भइरहको छ ।
संक्रमण फैलिन नदिन प्रभावित फार्मका कुखुरा नष्ट गर्ने तयारी भइरहेको छ । सरकारले बर्डफ्लू संक्रमण पुष्टि भएका फार्महरूलाई क्षतिपूर्ति दिने व्यवस्था गरेको पनि भट्टराईले स्पष्ट पारिन् । यसले प्रभावित किसानलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ । तर, संक्रमणको जोखिम र आर्थिक क्षतिको सम्भावनाले किसानहरू चिन्तित बनेका छन् ।
यसैबीच, झापा गाउँपालिका–७ मा रहेको सुदीक्षा कृषि फार्ममा पनि बर्डफ्लूको अर्को प्रकार ‘एचवान लो प्याथोजेनिक’ संक्रमण देखिएको छ । स्थानीय कृषक दुर्गाप्रसाद भट्टराईको फार्ममा देखिएको यो संक्रमण भने तुलनात्मक रूपमा कम जोखिमयुक्त मानिन्छ । चिकित्सकीय उपचारबाट निको हुन सक्ने भएकाले यसलाई गम्भीर रूपमा नलिइएको अधिकारीहरू बताउँछन् ।
लो प्याथोजेनिक संक्रमण भएका फार्मलाई भने सरकारले क्षतिपूर्ति उपलब्ध नगराउने व्यवस्था छ । त्यस्ता किसानलाई आवश्यक औषधि तथा प्राविधिक सहयोग मात्रै उपलब्ध गराइएको प्रमुख भट्टराईले जानकारी दिइन् । यसले उच्च जोखिम र न्यून जोखिम संक्रमणबीचको सरकारी नीतिगत भिन्नतालाई पनि स्पष्ट पार्छ ।
नेपालमै पहिलो पटक बर्डफ्लू संक्रमण झापामै फेला परेको थियो । २०६५ साल माघमा काँकडभिट्टामा देखिएको संक्रमण नियन्त्रण गर्न करिब २८ हजारभन्दा बढी कुखुरा तथा चल्ला नष्ट गरिएको थियो । त्यसपछि पनि २०६९ र २०७८ सालमा झापामा बर्डफ्लू देखा परिसकेको छ । अहिले फेरि संक्रमणको पुनरागमन भएको छ ।
विशेषज्ञहरूका अनुसार बर्डफ्लू संक्रमण फैलिन नदिन तत्काल नियन्त्रण, निगरानी र जनचेतना अत्यन्त आवश्यक हुन्छ । खुला सिमानाका कारण छिमेकी जिल्लाबाट संक्रमण सर्ने जोखिम उच्च रहने भएकाले सीमावर्ती क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्ने देखिएको छ ।
झापामा देखिएको बर्डफ्लू संक्रमणले कुखुरा व्यवसायसँगै समग्र कृषि अर्थतन्त्रमै असर पार्न सक्ने देखिन्छ । नियन्त्रणका लागि विशेष रणनीति बनाएर सरकारी संयन्त्र अघि बढ्नुपर्ने सरोकारवालाको सुझाव छ ।



















