विराटनगरमा पत्नीको हत्या गरेर कल्भर्टमा लुकाइयो शव, हराएको नाटक गर्दै प्रहरीमा निवेदन

Share this
786shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ११, बुधबार ०८:०७
कल्भर्टमुनिबाट कोमलकुमारीको शव निकाल्दै प्रहरी ।

विराटनगर । विराटनगरमा एक युवकले आफ्नै पत्नीको हत्या गरी शव लुकाएको अत्यन्तै संवेदनशील र भयावह घटना सार्वजनिक भएको छ ।

घटना विराटनगर महानगरपालिका–१५ हर्ताली हाटका रोशन साहसँग जोडिएको छ । उनले आफ्नी ३२ वर्षीया पत्नी कोमलकुमारी साहको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको हो ।

प्रहरीका अनुसार रोशनले हत्या गरेपछि सुनियोजित शवलाई लुकाउन सुनियोजित प्रयास गरेका थिए । उनले हातखुट्टा बाँधी पत्नीको शवलाई तन्नाले बेरेर विराटनगर–१७ स्थित छाला फ्याक्ट्रीको पश्चिममा रहेको कल्भर्टमुनि पानीभित्र फालिदिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पत्नीको हत्यापछि शव व्यवस्थापन गरेर घटना लुकाउनलाई घरदेखि करिब ४–५ किलोमिटर पूर्वतर्फ रहेको उक्त स्थान रोजिएको पत्ता लागेको छ ।

घटनाको खुलासा भने चार दिनपछि भयो । कल्भर्टमुनि पानीभित्र तन्नाले बेरिएको अवस्थामा शव देखिएपछि विराटनगर–१७ का वडाध्यक्ष समीर कमर मियाँले मंगलबार साँझ करिब ६ः५५ बजेतिर प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै कोशी अस्पतालका फरेन्सिक चिकित्सकसहित मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछाने र इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको संयुक्त टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो ।

शव सडेको र दुर्गन्धित अवस्थामा फेला परेकाले सुरुमा पहिचान गर्न कठिन भएको थियो । त्यसपछि प्रहरीले हराइरहेका व्यक्तिहरूको विवरणसँग मिलान गर्दै अनुसन्धान अघि बढायो । सोही क्रममा मृतक महिला कोमलकुमारी साह रहेको पुष्टि भयो ।

प्रहरीका अनुसार कोमलकुमारी चैत ६ गतेदेखि सम्पर्कविहीन थिइन् । रोशनले नै पत्नी हराएको नाटक गर्दै चैत ८ गते इलाका प्रहरी कार्यालय रानीमा हुलियासहितको निवेदन दिएका थिए । तर, अनुसन्धानको क्रममा उनले नै हत्या गरेर घटना लुकाउन खोजेको तथ्य बाहिर आएको जानकारी डीएसपी लामिछानेले दिए ।

प्रारम्भिक अनुसन्धानबाट रोशनले पत्नीको घाँटी थिचेर हत्या गरेको खुलेको छ । त्यसपछि प्रमाण नष्ट गर्न र घटना लुकाउन शवलाई टाढा पुर्‍याएर पानीभित्र फालेको लामिछानेको भनाइ छ । उनका अनुसार हातखुट्टा बाँधिएको, तन्नाले बेरिएको र पानीमा डुबाइएको अवस्थामा शव फेला पर्नुले घटना योजनाबद्ध रहेको यकिन हुन्छ ।

प्रहरीले रोशन साहलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले अपराध स्वीकार गरिसकेका छन् । हाल उनी इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका छन् । उनीविरुद्ध कर्तव्य ज्यान चलाउने प्रहरीको तयारी छ । इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

घटनास्थलबाट शवलाई कानुनी प्रक्रिया पूरा गरी राति करिब १० बजेतिर पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको थियो । पोस्टमार्टम रिपोर्टपछि घटनाका थप तथ्यहरू सार्वजनिक हुने प्रहरीले जनाएको छ ।

यस घटनाको पृष्ठभूमिमा दाम्पत्य सम्बन्धमा उत्पन्न अविश्वास मुख्य कारणका रूपमा देखिएको छ । प्रहरी स्रोतका अनुसार रोशनले पत्नीको परपुरुषसँग सम्बन्ध रहेको आशंकामा बारम्बार विवाद गर्दै आएका थिए । यही शंका र विवादले अन्ततः ज्यानै लिने निर्णयसम्म पुर्‍याएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

पत्नी हत्यासँग सम्बन्धित घटनाले समाजमा बढ्दो घरेलु हिंसा, सम्बन्धमा अविश्वास र त्यसबाट उत्पन्न हुने जघन्य अपराधका बारेमा उजागर गरेको छ । सबै पोटोबाट घटनाको अनुसन्धान भइरहेको डीएसपी लामिछानेले बताए ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.