
काठमाडौं । नेपाली संगीत क्षेत्रका स्थापित व्यक्तित्व हरि लम्सालको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्र ‘बा : एक योद्धा’ को औपचारिक रूपमा छायांकन सुरु भएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा निर्माण पक्षले धार्मिक विधिपूर्वक पूजाआजा र शुभ मुहूर्त गर्दै चलचित्रको काम थालनी गरेको हो ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमार्फत गायक तथा संगीतकार लम्सालले निर्देशनमा डेब्यु गर्दैछन् । नेपाली परिवारमा बुवाको महत्त्व, सन्तानका लागि उनले गर्ने त्याग र जीवनभर झेल्ने संघर्षलाई केन्द्रमा राखेर चलचित्रको कथा तयार पारिएको छ । बुवालाई एक ‘योद्धा’का रूपमा चित्रण गरिने यस सामाजिक चलचित्रले ग्रामीण र सहरी समाजको मार्मिक कथालाई पर्दामा उतार्ने लक्ष्य राखेको छ ।
चलचित्रमा ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘बोक्सीको घर’ जस्ता सफल चलचित्र खिचेका अनुभवी सिनेमेटोग्राफर शिवराम श्रेष्ठको छायांकन रहनेछ । वसन्त लम्साल निर्माता रहेको यस चलचित्रको मुख्य सहायक निर्देशकमा तारा नाथ न्यौपाने छन् । निर्माण पक्षले कलाकारहरूको नाम भने हालसम्म गोप्य राखेको छ । छायांकनको सम्पूर्ण कार्य सकिएपछि मात्र चलचित्रको प्रदर्शन मिति घोषणा गरिने बताइएको छ ।



















