विराटनगरमा पत्नीको हत्यापछि शव व्यवस्थापनमा सीटी सफारीको प्रयोग

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ११, बुधबार १७:५५

विराटनगर । विराटनगर महानगरपालिका–१५ हर्ताली हाटका ३५ वर्षीय रोशन साहले पत्नीको हत्या गरेपछि शव व्यवस्थापनका लागि सीटी सफारी प्रयोग गरेको पत्ता लागेको छ ।

रोनशले पत्नी ३२ वर्षीया कोमलकुमारी साहको हत्या चैत ५ गते राति गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरभित्रै हत्या गरेपछि प्रदेश १–०२–००३ ह ५७०७ नम्बरको सीटी सफारीमा राखेर शवलाई विराटनगर–१७ स्थित छाला फ्याक्ट्रीनजिक रहेको कल्भर्टमुनि फालिदिएको पत्ता लागेको हो ।

उक्त सफारी रोशनकै दाजु ४६ वर्षीय दीपेन्द्र साहको हो । घरबाट शव फालेको स्थान लगभग ४ किलोमिटर पूर्वमा रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर घटनासँग सम्बन्धित विस्तृत विवरण सार्वजनिक गरेको छ ।

मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी लीलाराज लामिछानेका अनुसार रोशनले पत्नीको हत्या गरेपछि शवलाई लुकाउन सुनियोजित प्रयास गर्ने क्रममा दाजु दीपेन्द्रको सीटी सफारी प्रयोग गरेको खुलेको छ । ‘साडी र गलबन्धीले घाँटी कसेर हत्या गरेपछि दाजुसँगको समन्वयमा शव व्यवस्थापन गरेको पाइयो । शव राखेको सफारी दीपेन्द्रले चलाए । रोशन पनि सँगै गए । छाला फ्याक्ट्रीनजिक पुगेपछि शव फालेर उनीहरु फर्किए,’ लामिछानेले भने ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट हत्यामा भने रोशनको मात्रै संलग्नता देखिएको छ । ‘हत्या गरेपछि शव व्यवस्थापनका लागि दाजु (दीपेन्द्र)को सहयोग लिएको देखिन्छ । हालसम्मको अनुसन्धानबाट घटनामा दीपेन्द्रको संलग्नता देखिँदैन । घटनामा उनको कतिसम्मको संलग्नता थियो भन्ने कुरा खोजी गर्दैछौं । अरु विस्तृत कुरा थप अनुसन्धानपछि खुल्छ,’ उनले भने ।

रोशनले हत्यापछि हातखुट्टा बाँधी पत्नीको शवलाई तन्नाले बेरेर करिब ४ किलोमिटर पर रहेको कल्भर्टको पानीमा फालिदिएको प्रहरीले जनाएको छ । हत्यापछि शव व्यवस्थापन गरेर घटना लुकाउनलाई घरदेखि निक्कै टाढाको स्थान रोजिएको पत्ता लागेको छ ।

घटनाको खुलासा भने चार दिनपछि भएको हो । कल्भर्टमुनि पानीभित्र तन्नाले बेरिएको अवस्थामा शव देखिएपछि विराटनगर–१७ का वडाध्यक्ष समीर कमर मियाँले मंगलबार साँझ करिब ६ः५५ बजेतिर प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै कोशी अस्पतालका फरेन्सिक चिकित्सकसहित डीएसपी लामिछाने र इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको संयुक्त टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो ।

शव सडेको र दुर्गन्धित अवस्थामा फेला परेकाले सुरुमा पहिचान गर्न कठिन भएको थियो । त्यसपछि प्रहरीले हराइरहेका व्यक्तिहरूको विवरणसँग मिलान गर्दै अनुसन्धान अघि बढायो । सोही क्रममा मृतक महिला कोमलकुमारी साह रहेको पुष्टि भयो ।

प्रहरीका अनुसार कोमलकुमारी चैत ६ गतेदेखि सम्पर्कविहीन थिइन् । रोशनले नै पत्नी हराएको नाटक गर्दै चैत ८ गते इलाका प्रहरी कार्यालय रानीमा हुलियासहितको निवेदन दिएका थिए । तर, अनुसन्धानको क्रममा उनले नै हत्या गरेर घटना लुकाउन खोजेको तथ्य बाहिर आएको छ ।

‘कल्भर्टमुनि भेटिएको शवको सुरुमा पहिचान भएन । अनुसन्धान गर्दै जाँदा सबै कुरा पत्ता लाग्यो । आफूले हत्या गरेर फालेको पत्नीको शव फेला परेपछि रोशन भारततिर भाग्न खोज्दै थिए । तत्काल नै प्रहरीको अर्को टोली परिचालन गरेर उनलाई घरबाटै पक्राउ गरिएको हो,’ डीएसपी लामिछानेले भने । उनका अनुसार तत्काल प्रहरी घरमा पुगेर नियन्त्रणमा लिन नपाएको भए रोशन फरार हुने थिए ।

प्रहरीले शव व्यवस्थापनमा सहयोग गर्ने रोशनका दाजु दीपेन्द्रलाई पनि पक्राउ गरेको छ । दुवै जना इलाका प्रहरी कार्यालय रानीको हिरासतमा छन् । उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी प्रहरीले दिएको छ । इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।

प्रमाण नष्ट गर्न र घटना लुकाउन शवलाई टाढा पुर्‍याएर पानीभित्र फालेको लामिछानेको भनाइ छ । उनका अनुसार हातखुट्टा बाँधिएको, तन्नाले बेरिएको र पानीमा डुबाइएको अवस्थामा शव फेला पर्नुले घटना योजनाबद्ध रहेको यकिन हुन्छ । ‘छाला फ्याक्ट्री वरपरको वातावरण प्रायः दुर्गन्धित नै हुन्छ । त्यही भएकाले सडेर दुर्गन्ध आउँदा पनि कसैले पत्ता लगाउन नसकुन् भनेर योजनाबद्ध हिसाबले शव व्यवस्थापनका लागि छाला फ्याक्ट्रीनजिकको स्थान रोजेको पाइयो,’ उनले भने ।

रोशनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले अपराध स्वीकार गरिसकेको प्रहरीको भनाइ छ । पत्नीको हत्यापछि कुनै पनि शंका नहोस् भनेर रोशन ससुराली पक्षसँग सम्पर्कमा रहेका थिए । ‘घटना आफूले गराएको कसैलाई थाहा नहोस् भन्ने उद्देश्यले रोशन नियमित ससुरालीसँग सम्पर्कमा बसेका रहेछन् । पत्नीको शव व्यवस्थापन गरिसकेपछि बारम्बार ससुरालीमा आउजाउ गरेछन् । त्यहीँ गएर रात बसेको पनि पायौं,’ लामिछानेले भने ।

उनको ससुराली (कोमलकुमारीको माइती) विराटनगर–६ मा पर्छ । कोमलकुमारीले लगाएको चुरा, औंठी र हरियो साडीका आधारमा माइती पक्षले शवको सनाखत गरिदिएका हुन् । घटनास्थलबाट शवलाई कानुनी प्रक्रिया पूरा गरी मंगलबार राति करिब १० बजेतिर पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको थियो । बुधबार दिउँसो पोस्टमार्टम गरेर शव आफन्तले जिम्मा लिइसकेका छन् ।

पोस्टमार्टम रिपोर्ट प्राप्त भएर अनुसन्धान सकिएपछि घटनासँग सम्बन्धित अन्य विषय पत्ता लाग्ने डीएसपी लामिछानेले बताए । सबै पोटोबाट घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ । रोशन र कोमलकुमारीका १२ वर्षका छोरा र १० वर्षकी छोरी छन् । छोराछोरी निदाइसकेपछि रातको समयमा रोशनले पत्नीको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

यस घटनाको पृष्ठभूमिमा दाम्पत्य सम्बन्धमा उत्पन्न अविश्वास मुख्य कारणका रूपमा देखिएको छ । प्रहरी स्रोतका अनुसार रोशनले पत्नीको परपुरुषसँग सम्बन्ध रहेको आशंकामा बारम्बार विवाद गर्दै आएका थिए । यही शंका र विवादले अन्ततः ज्यानै लिने निर्णयसम्म पुर्‍याएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

विराटनगरमा पत्नीको हत्या गरेर कल्भर्टमा लुकाइयो शव, हराएको नाटक गर्दै प्रहरीमा निवेदन

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×