
काठमाडौं । पटकपटक दिएको निर्देशन पालना नगरेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वलाई निलम्बन गरेको छ ।
खेलकुद विकास नियमावली २०७७ को दफा २९ को (२)का आधारमा राखेपले एन्फा नेतृत्वलाई निलम्बन गरेको हो ।
उक्त बुँदामा कुनै संघले परिषद्ले दिएको निर्देशन पालना नगरेमा त्यस्तो संघलाई तीन महिनासम्मका लागि निलम्बन गर्न सक्ने उल्लेख छ ।
एन्फा नेतृत्वले कार्यकाल सकिनुभन्दा ३ महिनाअघि नै विधानमा नभएको अर्ली इलेक्सन गर्न खोजेपछि विवाद बढेको थियो । एन्फा निर्वाचनका लागि अघि बढेपछि राखेपले स्वीकृतीबिना निर्वाचन नगर्न पटकपटक पत्र काटेको थियो । तर, एन्फाले निर्देशन अवज्ञा गर्दे चैत १३ गते निर्वाचन गर्ने गरी अघि बढेपछि राखेपले कारवाही गरेको हो ।

























