
एजेन्सी । इजरायलले इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी)का नौसेना कमान्डर अलिरेजा ताङसिरी मारिएको दाबी गरेपछि क्षेत्रीय तनाव पुनः चर्किएको छ ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले ताङसिरी ‘हर्मुजको जलडमरूमा बम विस्फोट र अवरोधजस्ता गतिविधिमा संलग्न प्रमुख व्यक्ति’ रहेको उल्लेख गर्दै उनको मृत्यु भएको दाबी गरेका हुन् । इजरायलका अनुसार हालैको आक्रमणमा ताङसिरीसहित आईआरजीसीका केही वरिष्ठ नौसेना अधिकारीहरू पनि मारिएका छन् ।
तर, इरानले भने यसबारे आधिकारिक पुष्टि गरेको छैन । जसले घटनाको सत्यतामाथि अझै प्रश्न कायम राखेको छ । ताङसिरी सन् २०१८ मा आईआरजीसी नौसेनाको कमान्डर नियुक्त भएका थिए ।
त्यसअघि उनले लामो समय उपकमान्डरका रूपमा काम गरेका थिए । सन् २०१९ मा उनले इरानमाथि दबाब बढेमा हर्मुज जलडमरू बन्द गर्न सकिने चेतावनी दिएका थिए । जुन विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त संवेदनशील क्षेत्र मानिन्छ ।
विश्लेषकहरूका अनुसार यदि इजरायलको दाबी पुष्टि भएमा यसले मध्यपूर्वमा सैन्य तनाव थप बढाउनेछ । तर, हालसम्म इरान मौन रहेकाले ताङसिरी वास्तवमै मारिएका हुन् कि होइनन् भन्ने विषय अझै अस्पष्ट छ ।



















