
विराटनगर । पूर्वराष्ट्रिय टेबल टेनिस खेलाडी विशाल केडियाको अध्यक्षमा मोरङ जिल्ला भेट्रान टेबल टेनिस संघ गठन भएको छ ।
विराटनगरमा आयोजित एक कार्यक्रममा केडियाको अध्यक्षतामा ११ सदस्यीय संघको गठन भएको हो ।कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद मेहताले खेलाडी र खेलको उचित व्यवस्थापनका लागि मन्त्रालयले विशेष काम गर्ने बताए । कार्यक्रममा मन्त्री मेहताले खेलकुद क्षेत्रको अस्तव्यस्त अवस्थालाई व्यवस्थित गर्ने उल्लेख गरे ।
स्वास्थ्य र प्रदेशका लागि खेलकुद प्राथमिकतामा रहेको बताउँदै मन्त्री मेहताले युवाहरूलाई खेलकुदमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । सोही क्रममा नवगठित संघका अध्यक्ष विशाल केडियाले टेबल टेनिसमा भेट्रानको सहभागितासँगै युवा र नयाँ प्रतिभा खोजीमा पनि जोड दिने बताए । उनले भने, ‘हामीले त खेलिसक्यौं ।अब नयाँ पिँढीका युवा खेलाडीलाई पनि मार्ग दर्शक बन्दै जाने छौँ । आफू पनि स्वास्थ्य रहन खेलकुदलाई प्राथमिकतामा राख्छौ।’
तीन वर्षे कार्यकालका लागि अध्यक्ष बनेका केडियासहित प्रथम उपाध्यक्षमा उपकार श्रेष्ठ, महासचिवमा सन्तोष प्रधान, सदस्यमा अनुज बानियाँ, सत्यनारायण राजभण्डारी, मञ्जु भगत, सोनाम चौधरी र धर्मेन्द्र केसरी रहेका छन् । समितिमा एक उपाध्यक्ष, सचिव र कोषाध्यक्ष भने आपसी छलफल पनि नियुक्त गर्ने अध्यक्ष केडियाले जानकारी दिए ।

























