
विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा जारी ‘घर निर्माण प्रदर्शनी’ को तेस्रो दिन वास्तु शास्त्र र इन्टेरियर डिजाइनका विविध आयामहरूमा केन्द्रित रहँदै सम्पन्न भएको छ । प्रदर्शनीको थिमेटिक सेसनअन्तर्गत सोमबार ‘स्मार्ट डिजाइन: वास्तु, इन्टेरियर डिजाइन र प्राविधिक योजना’ विषयमा विज्ञबीच अन्तरक्रिया र छलफल भएको हो ।
छलफलका क्रममा ‘इन्टेरियर डिजाइन अवधारणा: स्पेस प्लानिङ, उपयोगिता र सौन्दर्य’ शीर्षकमा बोल्दै इन्टेरियर डिजाइनर कृति श्रेष्ठ उपाध्यायले इन्टेरियर डिजाइनिङलाई केवल सजावट (डेकोर) का रूपमा मात्र बुझ्न नहुने सुनाइन् । उनले इन्टेरियर डिजाइनिङ कला र प्रविधिको यस्तो सम्मिश्रण हो, जसले घरलाई सहज, सरल र सुरक्षित बनाउन मद्दत गर्ने बताइन् ।
विलासी वस्तुहरूको प्रयोगले मात्रै डिजाइन पूर्ण नहुने उल्लेख गर्दै प्राकृतिक हावाको बहाव र सूर्यको प्रकाशको सही संयोजन हुनुपर्नेमा उनले जोड दिइन् । डिजाइन गर्दा घरको स्पेस (ठाउँ) को उचित उपयोग र प्राविधिक पक्षलाई ख्याल गर्नुपर्ने उनको सुझाव थियो ।
त्यस्तै, ‘आधुनिक घरका लागि वास्तु: आधारभूत सिद्धान्त र प्रयोग’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै वास्तुविद् रोज धाडेवाले वास्तुलाई विज्ञानका रूपमा व्याख्या गरे । उनले घर निर्माण हुने दिशा, जमिनको प्रकृति र घरमा प्रयोग गरिने रङले त्यहाँ बस्ने सदस्यहरूको स्वभाव र जीवनशैलीमा प्रत्यक्ष प्रभाव पार्ने बताए ।
घर निर्माण सम्पन्न भइसकेपछि वास्तु मिलाउने नाममा भत्काउनुभन्दा पनि घर बनाउनु अगाडि नै आधारभूत वास्तु सम्बन्धी जानकारी राख्नु फलदायी हुने उनले सुझाव दिए । उनले वास्तु विज्ञानका सिद्धान्तहरूलाई आधुनिक जीवनशैली र आवश्यकतासँग जोडेर प्रयोग गर्न सकिने प्रस्ट पारे ।
आइतबारको थिमेटिक सेसनमा इन्टेरियर डिजाइनका बाँकी अवधारणासँगै ‘स्मार्ट होम’ का लागि आवश्यक होम अटोमेसन, आधुनिक जीवनशैली, विद्युतीय सुरक्षा, ऊर्जा दक्षता र सोलार घरका बारेमा विज्ञहरूले जानकारी दिनेछन् ।
घर निर्माण गर्दा अपनाउनुपर्ने आधुनिक प्रविधि र सुरक्षाका उपायबारे जान्न चाहनेहरूका लागि सत्र विशेष रहने आयोजकले जनाएको छ ।



















