
एजेन्सी । मध्यपूर्वमा पछिल्लो समय तीव्र बन्दै गएको द्वन्द्वले नयाँ मोड लिएको छ । इरान र इजरायल बीचको तनाव चर्किँदै गइरहेका बेला हुथी विद्रोही पनि प्रत्यक्ष रूपमा युद्धको मैदानमा उत्रिएको छ ।
यससँगै क्षेत्रीय द्वन्द्व अब बहुपक्षीय युद्धतर्फ विस्तार हुने संकेत देखिएको छ । यमनमा लामो समयदेखि सक्रिय रहेको हुथी समूहले पहिलोपटक इजरायललाई लक्षित गर्दै मिसाइल आक्रमण गरेको छ । यमनको राजधानी सानाआ लगायत उत्तर क्षेत्रहरूमा आफ्नो नियन्त्रण कायम राख्दै आएको यो समूह यसअघि युद्धको प्रारम्भिक चरणमा प्रत्यक्ष आक्रमण नगरे पनि अहिले खुला रूपमा इरानको पक्षमा उभिएको छ ।
हुथी विद्रोहीहरू इरानसँग निकट सम्बन्ध राख्ने समूहका रूपमा चिनिन्छन् । हमासलाई समर्थन गर्दै गाजामा भइरहेको युद्धसँगै यो समूहले आफ्नो सक्रियता बढाएको हो । विश्लेषकहरूका अनुसार इरानको रणनीतिक समर्थनमा हुथीहरूको सहभागिता बढ्नुले द्वन्द्वको भौगोलिक दायरासँगै त्यसको प्रभाव पनि व्यापक बन्ने सम्भावना देखिएको छ ।
यस घटनासँगै अन्तर्राष्ट्रिय समुदायको ध्यान विशेषगरी बाब अल–मन्डेब स्ट्रेटतर्फ केन्द्रित भएको छ । रेड सीको दक्षिणी किनारमा रहेको यो महत्वपूर्ण जलमार्ग विश्व व्यापारका लागि अत्यन्त संवेदनशील मानिन्छ । हुथीहरूले आवश्यक परे यो मार्ग बन्द गर्न सक्ने संकेत दिइसकेका छन् । जसले विश्व आपूर्ति प्रणालीमा गम्भीर असर पार्न सक्छ ।
यदि यो जलमार्ग अवरुद्ध भयो भने एशिया, युरोप र अफ्रिकाबीचको व्यापारिक आवागमनमा ठूलो अवरोध आउन सक्छ । तेल तथा अन्य अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित हुने सम्भावनाले विश्व अर्थतन्त्रमा अर्को झट्का लाग्न सक्ने चिन्ता बढेको छ । यसअघि पनि रेड सी क्षेत्रमा भएका आक्रमणहरूले अन्तर्राष्ट्रिय जलयात्रा असुरक्षित बन्ने संकेत दिएका थिए ।
यद्यपि, सैन्य विश्लेषकहरूका अनुसार हुथीहरूले इजरायलमाथि पुर्याउन सक्ने प्रत्यक्ष क्षति सीमित हुन सक्छ । तर, यमनको तटीय क्षेत्र र रेड सी आसपासको सुरक्षामा भने यसले गम्भीर चुनौती सिर्जना गर्ने निश्चित छ । विशेषगरी व्यापारिक जहाजहरू र ऊर्जा आपूर्तिमा यसले प्रत्यक्ष जोखिम बढाउने देखिन्छ ।
इरान–इजरायलबीचको द्वन्द्व पहिले नै जटिल अवस्थामा पुगेको छ । यस्तो अवस्थामा नयाँ पक्षको संलग्नताले शान्ति प्रयासहरू थप कमजोर पार्ने खतरा बढाएको छ । क्षेत्रीय शक्तिहरूबीचको प्रतिस्पर्धा र समर्थन समूहहरूको सक्रियताले संघर्ष दीर्घकालीन र व्यापक बन्न सक्ने देखिन्छ ।
अब द्वन्द्व दुई देशबीचमा मात्रै सीमित छैन । यमनको हुथी समूहको सक्रिय सहभागिताले मध्यपूर्वमा चलिरहेको शक्ति संघर्षलाई अझ जटिल बनाएको छ ।



















