
एजेन्सी । अमेरिकाका विभिन्न सहरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध ‘नो किङ्स’ अभियानअन्तर्गत व्यापक प्रदर्शन भएका छन् । शनिबार न्यू योर्क, वाशिङ्टन डीसी र लस एन्जलस लगायत प्रमुख सहरहरूमा हजारौँ मानिस सडकमा उत्रिएका हुन् ।
प्रदर्शनकारीहरूले इरानसँगको सम्भावित युद्ध, कडा आप्रवासन नीति र बढ्दो महँगीविरुद्ध नाराबाजी गरेका छन् । ट्रम्पले तानाशाही शैलीमा शासन गर्न खोजेको आरोप प्रदर्शनकारीको छ । तर, ह्वाइट हाउसले भने प्रदर्शनलाई सामान्य भनेको छ ।
यो अभियानको तेस्रो चरण हो । यसअघि भएका प्रदर्शनमा लाखौँ मानिस सहभागी भइसकेका थिए । मिनेसोटामा भएको घटनापछि आन्दोलन झन् चर्किएको बताइएको छ । जहाँ संघीय आप्रवासन एजेन्टसँग सम्बन्धित हिंसात्मक घटनाले जनआक्रोश बढाएको थियो ।
त्यसैगरी टाइम्स स्क्वायरमा ठूलो भिड देखिएको थियो । आलोचकहरूले ट्रम्प प्रशासनका कदमहरू अमेरिकी लोकतन्त्रका लागि खतरा भएको बताएका छन् ।
ट्रम्पले भने आफूले देश सुधारका लागि आवश्यक निर्णय लिएको दाबी गरेका छन् । अमेरिकाबाहिर पेरिस, लन्डन र लिसबनमा रहेका अमेरिकीहरूले पनि प्रदर्शन गर्दै समर्थन जनाएका छन् ।



















