
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम स्वीकृति प्रक्रियामा महत्वपूर्ण सुधार गर्ने तयारी गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने व्यवस्था लागू गर्न निर्देशन दिएका छन् । उनको निर्देशनसँगै यसअघि टोकन प्रणालीमार्फत तोकिएको मितिमा मात्रै स्वीकृति लिनुपर्ने बाध्यता हटाएर सेवाग्राहीले लामो समय कुर्नुपर्ने समस्याको अन्त्य गर्ने तयारी भइरहेको हो ।
मन्त्रालयका अनुसार नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि सेवाग्राहीले अनावश्यक ढिलाइ र झन्झटबाट मुक्ति पाउनेछन् । श्रम स्वीकृति प्रक्रियालाई छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले यो निर्णय गरिएको हो ।
साथै, पूर्व प्रस्थान अभिमुखीकरण तालिमलाई पनि डिजिटल माध्यममार्फत उपलब्ध गराउने तयारी गरिएको छ । तालिमसम्बन्धी श्रव्य–दृश्य सामग्री अनलाइनमार्फत उपलब्ध गराइने र सम्पूर्ण प्रक्रिया क्रमशः अनलाइन प्रणालीमा रूपान्तरण गरिने बताइएको छ ।
त्यसैगरी, सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आबद्ध गराउने अभियानलाई तीव्रता दिने भएको छ । न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन, श्रमिकको हकहित संरक्षण र कार्यस्थल सुरक्षामा सुधार गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ । औद्योगिक प्रतिष्ठानहरूमा जोखिम मूल्यांकन गरी व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षालाई थप मजबुत बनाउने योजना अघि सारिएको छ ।
मन्त्रालयले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन थप पाँच मुलुकसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने तयारी गरेको छ । साथै, वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न कडा कदम चाल्ने, सिप विकास तालिममार्फत आन्तरिक रोजगारी सिर्जना गर्ने र निजी क्षेत्रसँग सहकार्य गर्दै देशभर सिप मेला सञ्चालन गर्ने योजना पनि अघि बढाइएको छ ।



















