
काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। आइतबारको तुलनामा छापावाल सुन प्रतितोला २५ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ। त्यसैगरी, आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४३ हजार ५५ रुपैयाँ तोकिएको छ।
सुनसँगै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार २९ रुपैयाँ ५० पैसा कायम गरिएको छ।



















