
इरान । इरानमा युद्ध अन्त्यको झिनो आशा पलाएका बेला परिस्थिति फेरि विनाशकारी मोडतर्फ अघि बढेको छ । इरानसँगको वार्ता सकारात्मक रहेको भन्दै १० दिन हमला नगर्ने घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ सार्वजनिक भएको केही दिनमै इरानमाथि भीषण आक्रमण भएको हो ।
अमेरिकाले सोमबार राति इरानको इफहानस्थित विशाल हतियार भण्डारणमा २ हजार पाउण्डको ‘बंकर बस्टर’ बम प्रयोग गरेर हमला गरेको छ । भूमिगत र मजबुत संरचना ध्वस्त पार्न प्रयोग गरिने यस्तो बम प्रहारपछि उक्त क्षेत्रमा आगोको विशाल मुस्लो देखिएको छ ।
यो हमलासँगै अब युद्धमा हिज्बुल्लाह र हुथी विद्रोहीसमेत सक्रिय रूपमा सामेल भएका छन्, जसले गर्दा पश्चिम एसियाको तनाव थप तीव्र बनेको छ । अमेरिकाभित्रै ट्रम्पको विरोधमा ९० लाखभन्दा बढी नागरिक सडकमा उत्रिएका बेला सो आन्दोलनलाई ओझेलमा पार्न यो हमला गरिएको हुनसक्ने विश्लेषण गरिएको छ ।
इरान र उसका प्रोक्सी नेटवर्कले पनि जवाफी कारबाही सुरु गरेका छन् । हिज्बुल्लाहले इजरायली एयर डिफेन्स सिस्टम नष्ट पारेको दाबी गरेको छ भने सोमबार इजरायलको हाइफास्थित तेल डिपोमा भीषण आगलागी भएको छ । इरानले अब इजरायली र अमेरिकी कमान्डरहरूलाई लक्षित गरी ‘टार्गेट किलिङ’ को रणनीति अपनाउने संकेत दिएको छ ।
युद्धको चपेटामा सर्वसाधारण, अस्पताल, विद्यालय र उद्धारकर्मीसमेत पर्न थालेका छन् । इजरायलले तेहरान विश्वविद्यालय र लेबनानका मानव बस्तीमा निरन्तर हमला गरिरहेको छ, जुन युद्ध अपराधको श्रेणीमा पर्छ । यसै क्रममा लेबनानमा संयुक्त राष्ट्रसंघका ३ जना शान्ति सैनिकको समेत मृत्यु भएको छ ।
यो गम्भीर घटनापछि फ्रान्सले सुरक्षा परिषद्को आपत्कालीन बैठक माग गरेको छ । सन् २०२३ अक्टोबरदेखि लगातार युद्धमा रहेको इजरायली सेना थाकिसकेको र लामो समय युद्ध लड्न अब कठिन हुने चेतावनी इजरायली सेनाका चिफ अफ स्टाफ इयाल जमिरले दिएका छन् । यद्यपि, अमेरिका र इजरायलले मानवीय क्षेत्रमा समेत आक्रमण नरोक्दा संकट झनै गहिरिएको छ ।



















