
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा ठूलो गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७४.७३ अंकले घटेर २७७६ विन्दुमा ओर्लिएको हो। मंगलबार झिनो अंकले सुधारिएको बजार बुधबार खुलेदेखि नै ओरालो लागेको थियो।
बजारमा उच्च गिरावट आए पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि देखिएको छ। अघिल्लो दिन ११ अर्ब ११ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार करिब १ अर्बले बढेर १२ अर्ब १० करोड रुपैयाँ पुगेको छ। यस दिन कुल २५५ कम्पनीको सेयर मूल्य घट्दा केवल १३ कम्पनीको मूल्यमा मात्र सुधार देखियो।
समूहगत सूचकतर्फ सबै क्षेत्र राताम्मे बनेका छन्। सबैभन्दा धेरै ‘अन्य’ समूहको सूचक ५.२६ प्रतिशतले घट्यो। नेपाल पुनर्बीमा कम्पनीको मूल्यमा ९.८४ प्रतिशतको गिरावट आएसँगै यो समूह बढी प्रभावित भएको हो। यस्तै व्यापार समूह ३.९६, विकास बैंक ३.१८ र फाइनान्स समूह ३.०३ प्रतिशतले घटेका छन्।
बैंकिङ २.३१, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर २.८१ र लगानी समूह २.६७ प्रतिशतले ओरालो लागेका छन्। जीवन बीमा र निर्जीवन बीमा समूहमा पनि क्रमशः २.०२ र २.२२ प्रतिशतको गिरावट आएको छ। उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा कम ०.३९ प्रतिशतको गिरावट देखियो भने माइक्रोफाइनान्स १.९९ प्रतिशतले घट्यो। लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहँदा बजारमा तीव्र बिक्री चाप देखिएको विश्लेषकहरू बताउँछन्।



















