
एजेन्सी । इन्डोनेसियाको मोलुका टापु केन्द्रविन्दु बनाएर बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार बिहान ६ः४८ बजेको उक्त भूकम्प सुरुमा ७.८ म्याग्निच्युड मापन गरिएको थियो । भूकम्पको केन्द्र पर्यटकीय सहर टर्नेटबाट करिब १२० किलोमिटर टाढा रहेको जनाइएको छ ।
भूकम्पलगत्तै हवाईस्थित सुनामी चेतावनी केन्द्रले इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रमा सुनामीको जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । भूकम्पको धक्का जापानसम्म महसुस भएको र त्यहाँ पनि समुद्री सतहमा सामान्य उतारचढाव हुन सक्ने चेतावनी दिइएको छ ।
यस घटनामा उत्तर सुलावेसीको मिनाहासा क्षेत्रमा घर भत्किँदा एक ७० वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको छ । मनाडो सहरमा केही भवनहरूमा क्षति पुगेको र सडकमा सामानहरू छरिएको दृश्य सार्वजनिक भएका छन् ।
मुख्य भूकम्पपछि ५.५ र ५.२ म्याग्निच्युडका पराकम्पहरू पनि गएका छन् । अधिकारीहरूले थप पराकम्प आउन सक्ने भन्दै तटीय क्षेत्र र जोखिमयुक्त स्थानबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।



















