ट्रम्पद्वारा न्याय र सैन्य नेतृत्वमा ठूलो फेरबदल

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २०, शुक्रबार १४:४२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनमा न्याय र सैन्य क्षेत्रमा एकैसाथ महत्वपूर्ण फेरबदल भएको छ ।

ट्रम्पले आफ्नी नजिककी सहयोगी तथा महान्यायाधिवक्ता प्याम बोन्डीलाई पदबाट हटाएका छन् भने अमेरिकी सेनाका प्रमुख जनरल र्यान्डी जर्जलाई पनि समयअगावै पद छोड्न लगाइएको छ । ट्रम्पले ‘ट्रुथ सोसल’मार्फत बोन्डीको बिदाइका बारेमा जानकारी दिँदै अब उनी निजी क्षेत्रमा जाने बताएका छन् ।

Advertisement

उनको स्थानमा डेपुटी टोड ब्लान्चले न्याय विभागको नेतृत्व सम्हाल्नेछन् । बोन्डीको बहिर्गमन विशेषगरी जेफ्री एपस्टिन प्रकरणसँग जोडिएको फाइल व्यवस्थापन विवादसँग सम्बन्धित मानिएको छ । उनले सुरुमा पारदर्शिता र ‘क्लायन्ट लिस्ट’ सार्वजनिक गर्ने वाचा गरे पनि पछि त्यस्तो सूची नभएको सरकारी दाबीले आलोचना चुलिएको थियो ।

यसैबीच, अमेरिकी रक्षा मन्त्री पिट हेगसेथको निर्देशनमा जनरल जर्जलाई पदबाट हटाइएको हो । उनको स्थानमा जनरल क्रिस्टोफर लानेभले कार्यवाहक रूपमा जिम्मेवारी सम्हाल्नेछन् । जर्जको कार्यकाल सामान्यतः चार वर्षको हुने भए पनि उनलाई समयअघि नै अवकाश लिन लगाइएको हो ।

रक्षा विभागका अनुसार यो परिवर्तन सेनामा नयाँ नेतृत्व स्थापित गर्ने रणनीतिअन्तर्गत गरिएको हो । जर्जले खाडी युद्धदेखि इराक र अफगानिस्तानसम्मका संघर्षमा भूमिका निर्वाह गरेका थिए ।

ट्रम्पको दोस्रो कार्यकालमा यसअघि पनि उच्च तहमा निरन्तर फेरबदल हुँदै आएको छ । पछिल्ला निर्णयहरूले प्रशासनभित्र असन्तुष्टि र रणनीतिक पुनर्संरचनाको संकेत दिइरहेका विश्लेषकहरूको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.