
झापा । नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता झापाको भद्रपुरमा वैशाख ५ गतेदेखि हुने भएको छ ।
भद्रपुरको चन्द्रगढी युवा क्लबले महिला खेलाडीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सर्वाधिक पुरस्कार राशि राखेर ‘प्रथम चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल’ प्रतियोगिता आयोजना गरेको हो ।
भद्रपुरस्थित मेची रंगशालामा वैशाख ५ देखि १४ गतेसम्म फुटबल प्रतियोगिता आयोजना गर्न लागेको क्लबले जनाएको छ । क्लबका अध्यक्ष रोहित सुब्बाले प्रतियोगिताको मुख्य उद्देश्य झापालाई महिला फुटबलको ‘हब’ को रूपमा विकास गर्ने र ग्रास रुटबाटै खेलाडी उत्पादनमा टेवा पुर्याउने रहेको छ ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहने छ । आयोजक चन्द्रगढी युवा क्लबसहित नेपालका ३ विभागीय टोलीहरू (त्रिभुवन आर्मी, नेपाल एपीएफ र नेपाल पुलिस क्लब), चर्च ब्वाइज युनाइटेड र संकटा फुटबल क्लबको सहभागिता निश्चित भइसकेको छ भने भारतको एक, भुटानको एक र अन्य एसियाली मुलुकका २ वटा क्लबले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्ताले जनही २५ हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
खेलका लागि रंगशालाको निर्माण तथा स्तरोन्नति धमाधम भइरहेको छ । चैत अन्तिमसम्म मैदान र अस्थायी प्यारापिटको काम सक्ने गरी तीव्र गतिमा काम अघि बढाइएको अध्यक्ष सुब्बाले बताए । प्रतियोगिता सञ्चालनका लागि अनुमानित खर्च १ करोड रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

























