
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गर्ने क्रममा खसेको अवशेष लागेर ७ जना नेपाली नागरिक घाइते भएका छन् ।
घटनामा घाइतेमध्ये एक नेपालीको अवस्था गम्भीर रहेको जनाइएको छ । अन्य ६ जनाको अवस्था सामान्यदेखि मध्यम रहेको छ । आबुधाबी मिडिया अफिसले सार्वजनिक गरेको विवरणअनुसार ड्रोन र मिसाइल आक्रमण भएको थियो । त्यसलाई आकाशमै निष्क्रिय पार्ने क्रममा अवशेषहरू अज्बान क्षेत्रका विभिन्न स्थानमा खसेका थिए ।
ती अवशेष लागेर नेपालीसहित अन्य विदेशी कामदारहरू घाइते भएका हुन् । उक्त घटनामा ५ जना भारतीय नागरिक पनि घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । घाइतेहरूको नामावली भने हालसम्म सार्वजनिक गरिएको छैन ।
अज्बान क्षेत्र आबुधाबीको अल ऐन सहरको उत्तरतर्फ र दुबई–अल ऐन सिमाना नजिक पर्ने औद्योगिक तथा आवासीय क्षेत्र हो । जहाँ ठूलो संख्यामा विदेशी कामदारहरू बसोबास गर्दै आएका छन् । उक्त क्षेत्रमा सामान्य गतिविधि चलिरहेकै अवस्थामा अचानक आकाशमा विस्फोटजस्तो आवाज आएपछि स्थानीयहरू त्रसित भएका थिए ।
यूएई रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हवाई सुरक्षा प्रणालीले शत्रुपक्षबाट प्रक्षेपण गरिएका ड्रोन र मिसाइलहरू सफलतापूर्वक अवरोध गरेको दाबी गरेको छ । मन्त्रालयका अनुसार कुनै पनि लक्षित संरचनामा सिधा आक्रमण हुन नदिइए पनि अवरोधका क्रममा खसेका टुक्राहरूले जमिनमा क्षति पुर्याएको छ । यही क्रममा सर्वसाधारण घाइते भएका बताइएको छ ।
घटनापछि आपतकालीन उद्धार टोली तत्काल परिचालन गरिएको थियो । सुरक्षाकर्मीहरूले प्रभावित क्षेत्रलाई घेराबन्दी गर्दै थप जोखिम न्यूनीकरणका उपाय अपनाएका थिए । घाइतेहरूलाई तत्काल नजिकका अस्पतालहरूमा पुर्याएर उपचार सुरु गरिएको थियो । अस्पताल स्रोतका अनुसार गम्भीर घाइते नेपालीको अवस्था चिन्ताजनक रहेको छ र उनलाई सघन उपचार कक्षमा राखिएको छ ।
यसैबीच, आबुधाबीस्थित हब्सन ग्यास उद्योग क्षेत्रमा पनि ड्रोन वा मिसाइलका अवशेष खस्दा आगलागी भएको जनाइएको छ । उक्त उद्योग क्षेत्रमा लागेको आगो केही समयमै नियन्त्रणमा लिइए पनि सुरक्षाका कारण केही समयका लागि उत्पादन प्रक्रिया स्थगित गरिएको थियो । यद्यपि, उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको अधिकारीहरूले स्पष्ट पारेका छन् ।
घटनापछि यूएईका सरकारी निकायहरूले सर्वसाधारणलाई आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र विश्वास गर्न र अपुष्ट तथा भ्रामक खबरहरू सामाजिक सञ्जालमार्फत नफैलाउन आग्रह गरेका छन् । सुरक्षा संवेदनशीलता बढेकाले उच्च सतर्कता अपनाइएको छ ।
यस घटनाले पुनः एकपटक यूएईमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षाप्रति चिन्ता बढाएको छ । विशेषगरी औद्योगिक क्षेत्रमा कार्यरत कामदारहरू यस्ता अप्रत्याशित सुरक्षा जोखिममा पर्न सक्ने देखिएको छ । नेपाली दूतावासले घटनाको विवरण संकलन गरिरहेको र घाइते नेपालीहरूको निगरानी राखिएको जनाएको छ ।
यसअघि पनि गत फागुन महिनामा ड्रोन आक्रमणकै क्रममा यूएईमा कार्यरत गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको थियो । हालको घटनाले बढ्दो क्षेत्रीय तनाव र त्यसका प्रभावहरू विदेशी कामदारहरूमा समेत प्रत्यक्ष रूपमा पर्न थालेको संकेत गरेको छ । सुरक्षा प्रणालीले आक्रमण रोक्न सफल भए पनि त्यसका अवशेषकै कारण निर्दोष नागरिक घाइते हुन पुगेका छन् ।



















