निर्वाचित सरकारलाई अपदस्थ गरेका म्यानमारका सेना प्रमुख नै बने राष्ट्रपति

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २१, शनिबार १४:४८

विराटनगर । म्यानमारमा निर्वाचित नेतृत्वलाई कू गरेर अपदस्थ गरेको पाँच वर्षपछि सेना प्रमुख नै राष्ट्रपति बनेका छन् । युद्धग्रस्त राष्ट्रमा राजनीतिक शक्तिमा आफ्नो पकडलाई औपचारिकता दिँदै वरिष्ठ जनरल मिन आङ ह्लाइङ राष्ट्रपति बनेका हुन् ।

२०११ देखि म्यानमारको सशस्त्र सेनाको नेतृत्व गर्दै आएका मिन आङ ह्लाइङ पहिले नै आफ्नो कमाण्डर इन चीफको पद त्यागेका थिए, किनभने संविधानले राष्ट्रपतिलाई एकैसाथ शीर्ष सैन्य पद धारण गर्न निषेध गरेको छ ।

शुक्रबार देशको सैन्य समर्थक संसदमा ५८४ मतमध्ये वरिष्ठ जनरल मिन आङ ह्लाइङले ४२९ मत प्राप्त गरेको संसदको संयुक्त (माथिल्लो र तल्लो सदन)का सभामुख आङ लिन ड्वेले पुष्टि गरे ।

६९ वर्षीय जनरलले नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको प्रशासन विरुद्ध २०२१ मा विद्रोहको योजना बनाएर उनलाई गिरफ्तार गरे । जसले गर्दा व्यापक विरोध प्रदर्शन सुरु भयो । जुन सैन्य नेतृत्वविरुद्ध राष्ट्रव्यापी सशस्त्र प्रतिरोधमा परिणत भयो । पछिल्लाे समय म्यानमारमा गृहयुद्ध जारी छ ।

गत डिसेम्बर र जनवरीमा भएको एकतर्फी चुनाव भएको थियो । चुनाव सेना समर्थित दलले भारी मतले जितेको थियो । आलोचकहरूले लोकतन्त्रको आवरण पछाडि सैन्य शासनलाई कायम राख्ने ढोंग गरेको भन्दै आलोचना गरेका थिए ।

सेना समर्थक युनियन सोलिडारिटी एण्ड डेभलपमेन्ट पार्टीले चुनावमा प्रतिस्पर्धा गरेका ८० प्रतिशतभन्दा बढी संसदीय सिटहरू जितेको छ भने सशस्त्र सेनाका सेवारत सदस्यहरूले निर्वाचित सिटहरू ओगटेका छन्, जुन कुल सिटको एक चौथाई छ ।

म्यानमारको सैन्य सरकारको प्रमुख सहयोगी मानिएको चीनले शुक्रबार मिन आङ ह्लाइङलाई बधाई दिँदै बेइजिङको बेल्ट एण्ड रोड पूर्वाधार परियोजनाहरूमा सहयोगको हुने विश्वास व्यक्त गरेको छ ।

म्यानमारमा विगत पाँच वर्षदेखि जारी गृहयुद्ध चर्किरहेको छ । नयाँ राष्ट्रपतिप्रति विद्राेही समुहले तानाशाही भनेकाे छ ।

‘हाम्रो दृष्टिकोण र रणनीतिक उद्देश्यहरू सैन्य तानाशाही सहित सबै प्रकारका तानाशाहीलाई पूर्ण रूपमा समाप्त पार्नु र सामूहिक रूपमा नयाँ राजनीतिक परिदृश्य सुरु गर्नु हो,’ संघीय लोकतान्त्रिक संघको उदयका लागि संचालन परिषद्ले विज्ञप्ति जारी गर्दै भनेको छ ।

अलजजिराकाे सहयाेगमा 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.