बुढीगंगा गोल्डकपः सलहेश विजयी हुँदै सेमिफाइनलमा

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २१, शनिबार १८:३८
बुढीगंगा गोल्डकपः सलहेश विजयी हुँदै सेमिफाइनलमा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा जारी ‘प्रथम बुढीगंगा गाोल्डकप’ फुटबल प्रतियोगितामा सिरहाको सलहेश युवा क्लब विजयी हुँदै सेमिफाइनलमा पुगेको छ ।  बुढीगंगा– २ अमाहीमा शनिबार भएको उद्‌घाटन खेलमा सिरहाले काठमाडौंको आरआइएफसीलाई ४–३ गोल अन्तरमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

निर्धारित ८० मिनेटको खेलको ११ औँ मिनेटमा सिरहाका फकुन्ले अभोयोमीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । सिरहाका फोडे फोफोनाले खेलको २३ औँ मिनेटमा गोल गर्दै टोलीको गोल संख्या दोब्बर बनाए ।

पुनः ४३ औँ मिनेटमा फोडेले गोल गर्दै व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे । सिरहाका रोमन भुजेलले ४५ औँ मिनेटमा गोल थप्दै ४ शून्यको गोलको अवस्थामा पुर्‍याए ।

त्यसपछि, ४–० गोल अन्तरमा पछाडि रहेको काठमाडौंले खेललाई केही सुधार गर्दै थप आक्रमण खेल प्रस्तुत गर्दै गोलान्तर कम गर्न लागे । ६३ औँ मिनेटमा काठमाडौंका सोलोमनले गोल गर्दै टोलीका लागि खाता खोले । लगत्तै ६५ औँ मिनेटमा काठमाडौंमा बिकु राईले गोल गर्दै ४–२ को अवस्था पुर्‍याए । काठमाडौं सोलोमनले पुनः ७४ औँ मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै मतान्तर कम गरे पनि खेल नजिता निकाल्न सकेनन् ।
खेलको प्लेयर अफ द म्याच सिरहाका फोडे फोफोनाले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत आइतबारको खेल धनकुटाको रारा फुटबल क्लब र झापाको चात्या सा फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

चैत २७ गतेसम्म हुने प्रतियोगितामा आयोजकसहित ८ वटा टोलीको सहभागिता रहेको छ  । जसमा आयोजक पालिका बुढीगंगा, सिरहाको सलहेश युवा क्लब, धनकुटाको रारा फुटबल क्लब, सुनसरीको धरान फुटबल क्लब, झापाको चात्या सा फुटबल क्लब, काठमाडौंको आरआइएफसी, काठमाडौंको जस्ट जोन फुटबल क्लब (नाइजेरिया) र भारत सिलगुडीको कञ्चनजंघा फुटबल क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×