
एजेन्सी । इरानले आफूविरुद्ध अमेरिका र इजरायलबाट सैन्य आक्रमण तीव्र भएमा विश्वव्यापी ऊर्जा तथा व्यापार आपूर्ति मार्गहरू अवरुद्ध गर्ने कडा चेतावनी दिएको छ ।
अल जजीराले जनाएअनुसार इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीका सल्लाहकार अली अकबर वेलायातीले यस्तो चेतावनी दिएका हुन् । उनका अनुसार इरानले सैन्य प्रतिकारमा मात्रै सीमित नरही विश्व अर्थतन्त्रलाई असर पार्ने रणनीतिक कदमसमेत चाल्न सक्ने छ ।
वेलायातीले महत्त्वपूर्ण समुद्री मार्गहरूलाई लक्षित गर्न सकिने बताएका छन् । विशेषगरी होर्मुज जलडमरू मात्र नभई बाब–एल–मन्देब जस्ता रणनीतिक जलमार्गहरू पनि अवरोधको सम्भावित क्षेत्रका रूपमा उल्लेख गरिएको छ । यी मार्गहरू विश्वको कच्चा तेल तथा व्यापार ढुवानीका लागि अत्यन्त संवेदनशील मानिन्छन् ।
इरानको यो चेतावनीलाई क्षेत्रीय तनाव थप चुलिने संकेतका रूपमा हेरिएको छ । विशेषगरी मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र राजनीतिक तनावबीच यस्तो अभिव्यक्तिले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा अनिश्चितता बढाउने विश्लेषण गरिएको छ ।
विश्लेषकहरूका अनुसार यदि यी समुद्री मार्गहरू अवरुद्ध भएमा विश्वव्यापी तेल आपूर्ति, ढुवानी लागत र व्यापार सञ्जालमा गम्भीर असर पर्न सक्नेछ । हालसम्म अमेरिका र इजरायलले यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन् ।



















