अमेरिका–इरान तनाव उत्कर्षमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २४, मंगलबार २०:४४

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता नगरे ‘पूरै सभ्यता आज राति नष्ट हुन सक्ने’ चेतावनी दिएपछि मध्यपूर्वमा तनाव झनै बढेको छ ।

ट्रम्पको धम्कीसँगै अमेरिका र इरानबीचको तनाव झन् उत्कर्षमा पुगेको हो । ट्रुथ सोसियलमा पोस्ट गर्दै ट्रम्पले इरानमा शासन परिवर्तनपछि ‘बुद्धिमान र कम उग्र विचार भएका नेतृत्व’ आउन सक्ने उल्लेख गर्दै ४७ वर्षदेखिको भ्रष्टाचार, दमन र हिंसा अन्त्य हुने दाबी गरेका छन् ।

Advertisement

उनले वर्तमान अवस्था विश्व इतिहासकै अत्यन्त निर्णायक क्षणमध्ये एक हुन सक्ने पनि बताएका छन् । ट्रम्पको उक्त अभिव्यक्तिपछि इरानले कडा प्रतिक्रिया दिएको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले सरकारी सञ्चारमाध्यममार्फत जारी गरेको वक्तव्यमा अमेरिका र उसका क्षेत्रीय सहयोगीहरूप्रति अहिलेसम्म संयम अपनाइएको भए पनि अब सीमा नाघिए कठोर प्रतिउत्तर दिने चेतावनी दिएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कोरले आवश्यक परेमा अमेरिकी तथा सहयोगी देशका पूर्वाधारहरूलाई लक्षित गर्ने र लामो समयसम्म तेल तथा ग्यास आपूर्ति अवरुद्ध गर्न सक्ने दाबी गरेको छ ।

साथै, प्रतिकार सीमित क्षेत्रमा मात्र नभई अन्य क्षेत्रसम्म फैलिन सक्ने चेतावनी पनि दिइएको छ । इरानी पक्षले अमेरिका र उसका सहयोगीहरूले इरानविरुद्ध कुनै पनि सैन्य वा आर्थिक दबाब बढाएमा ‘कहिल्यै नबिर्सिने जवाफ’ पाउने स्पष्ट सन्देश दिएको छ ।

इरानले तेल र ग्यास आपूर्ति अवरुद्ध हुन सक्ने कडा चेतावनी दिएको छ । केही अन्तर्राष्ट्रिय रिपोर्टहरूमा खार्ग टापु, पुल, विद्युत् उत्पादन केन्द्रजस्ता रणनीतिक संरचनाहरूलाई सम्भावित लक्ष्यका रूपमा उल्लेख गरिएको छ ।

दुवै पक्षका कडा अभिव्यक्तिपछि मध्यपूर्वमा तेल आपूर्ति, ऊर्जा सुरक्षा र सम्भावित सैन्य टकरावबारे चिन्ता बढेको छ । अन्तर्राष्ट्रिय समुदायले अवस्था नियन्त्रणमा राख्न र कूटनीतिक समाधान खोज्न आग्रह गरेको भए पनि हालसम्म तनाव घट्ने स्पष्ट संकेत देखिएको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.