
काठमाडौं । कराँतेकी ऐतिहासिक पदक विजेता एरिका गुरुङले चीनको लेसनमा हुने ‘डब्लुकेएफ कराँते वान’ प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने भएकी छन् । त्यसका लागि एरिकासहित ३ सदस्यीय नेपाली टोली बुधबार चीन प्रस्थान गर्दै छ ।
अप्रिल १० देखि १२ तारिखसम्म हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन् । गत जनवरीमा टर्कीको इस्तानुबलमा भएको प्रिमियर लिगमा एरिकाले ऐतिहासिक रजत पदक जितेकी थिइन् । प्रिमियर लिग वर्षमा ४ पटक हुन्छ ।
राष्ट्रिय कराँते टोलीका प्रशिक्षक कुशल श्रेष्ठका अनुसार विश्व वरीयतामा एरिका हाल ११ औं स्थानमा छिन् । सन् २०२६ को उपलब्धिका आधारमा भने एरिका तुम धी युके एसोसिएसनकी सद्भावना दूत एरिका चौथो वरीयतामा छिन् ।
तीन सदस्यीय टोलीमा कुशल प्रशिक्षकको जिम्मेवारीमा छन् । व्यवस्थापकमा रवि महर्जन छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता र नेपाल कराँते महासंघका महासचिव दावा गुरुङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव मेहताले पदक जिते बापत खेलाडीले प्राप्त गर्न नसकेको नगद पुरस्कारका लागि पहल गरिरहेको बताए ।
उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जिते बापतको खेलाडीले पाउन नसकेको नगद पुरस्कार लागि गम्भीर भएर सम्बन्धित निकायमा पहल गरिरहेको प्रस्ट्याए ।
खेलकुद मन्त्रीको स्वागत कार्यक्रममा पेस गरिएको तत्काल गर्नुपर्ने १८ कार्य मध्ये खेलाडीको पुरस्कारलाई पहिलो नम्बरमा राखिएको छ । सदस्यसचिव मेहताले भने, ‘व्यक्तिगत भेटमा पनि यही आर्थिक वर्षमा दिनु पर्छ भनेर मन्त्रीज्यूसँग कुरा गरेको छु । मन्त्रीज्यू पनि यसमा सकारात्मक हुनु हुन्छ ।’

























