
तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘एउटा सिङ्गो सभ्यता अन्त्य गरिदिने’ धम्की दिएपछि इरानभरि तनाव र सैन्य तयारी चुलिएको छ । ट्रम्पको चेतावनीका बीच इरानी अधिकारीहरूले आफ्ना ऊर्जा केन्द्र र राष्ट्रिय सम्पदा जोगाउन युवाहरूलाई ‘मानव साङ्लो’ बनाउन आह्वान गरेपछि देशभर प्रतीकात्मक प्रतिरोध देखिएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार तेहरान, ताब्रिज र डेजफुल जस्ता सहरका प्रमुख विद्युत् केन्द्र र १ हजार ७ सय वर्ष पुराना ऐतिहासिक पुलहरूमा हजारौँ नागरिकहरू भेला भएका छन् । राष्ट्रपति मसुद पेजेस्कियनले देशको रक्षाका लागि १ करोड ४० लाख स्वयंसेवकहरूले नाम दर्ता गराएको र उनीहरू ज्यान दिन तयार रहेको बताए ।
ट्रम्पले होर्मुज जलसन्धि खोल्न बुधबार बिहानसम्मको समयसीमा (डेडलाइन) दिँदै भीषण बमबारीको चेतावनी दिएका थिए । तर उक्त समयसीमा सकिनु केही समयअघि मात्रै दुई हप्ताको युद्धविराम घोषणा भएपछि तत्कालका लागि ठूलो युद्ध टरेको छ । पाकिस्तानको मध्यस्थतामा भएको यो सहमतिअनुसार इरानले होर्मुज जलमार्ग तत्काल र सुरक्षित रूपमा खुला गर्नुपर्नेछ ।
इरानले सुरक्षित जलमार्ग, युद्धपछिको पुनर्निर्माण र प्रतिबन्ध फुकुवाको मागसहित १० बुँदे शान्ति प्रस्ताव पेस गरेको छ, जसलाई ट्रम्पले ‘व्यावहारिक आधार’ भनेका छन् । सम्भावित आक्रमणको त्रासमा रहेका इरानीहरूले गत केही दिनदेखि खाद्यान्न र मैनबत्ती जम्मा गरेर त्रासमा रात बिताइरहेका थिए । युद्धविरामले सर्वसाधारणलाई राहत मिले पनि इरानभित्रको राजनीतिक कट्टरता र आर्थिक सङ्कट भने थप गहिरिने अनुमान गरिएको छ ।



















