विराट गोल्डकप : कुन टोली कस्ता ?

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २५, बुधबार १७:५२

विराटनगर । विराटनगरमा आयोजना हुने विराट गोल्डकपमा पहिलोपटक मोरङ जिल्ला विजेता सम्राट स्पोर्टिङ फुटबल क्लबले अन्य टोलीलाई चुनौती दिने भएको छ ।

२०१८ सालदेखि तत्कालीन महेन्द्र गोल्डकपको नामबाट सुरु भएको यस प्रतियोगितामा पहिलोपटक जिल्ला लिग विजेताले सहभागिता जनाउने भएको हो । आयोजक विराट गोल्डकप ट्रष्टले प्रतियोगिताको आवश्यक तयारी पूरा भएको जनाएको छ ।

विराटनगरको सहिद मैदानमा बुधबार आयोजित पत्रकार सम्मेलनमा ‘नोबेल मेडिकल कलेज विराट गोल्डकप’लाई सहयोग पुर्याउन खेलप्रेमीहरुमा आग्रह गरेको छ । पत्रकार सम्मेलनमा ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले गोल्डकपमा पहिलोपटक स्थानीय क्लबका रुपमा सम्राटलाई अवसर दिइएको बताए ।

यसअघि, गोल्डकपमा आयोजकले नै टोली बनाउँदै आएको उल्लेख गर्दै शाहीले भने, ‘यसपटक भने फुटबल खेल्दै आएको व्यावसायिक क्लबलाई स्थान दिनु उत्तम हुने बुझेका छौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजदेखि भारतको अल झारखण्ड विर्षा मुन्डा फुटबल एकेडेमीसम्मको सहभागिता हुनेछ ।’

चैत्र २८ गतेबाट आगामी २०८३ साल वैशाख ५ गतेसम्म हुने गोल्डकपका लागि १ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष शाहीले बताए । पत्रकार सम्मेलनमा गोल्डकप विजेताले ११ लाख, उपविजेताले ५ लाख रुपैयाँ हात पार्ने बताउँदै अध्यक्ष शाहीले प्रत्येक खेलमा उत्कृष्ट खेलाडीसहित विभिन्न ४ विधामा पुरस्कार राखिएको जानकारी दिए ।

हालसम्म गोल्डकपका लागि आवश्यक तयारी पूरा भइसकेको बताउँदै उनले रंगशाला क्षेत्रमा ब्यानर र होर्डिङ बोर्डलगायत व्यवस्थापनसँग सम्बन्धित केही काम भइरहेको प्रष्टाए । गोल्डकपका लागि मैदानदेखि फ्लड लाइट्ससम्मको मर्मत गर्नुपर्ने बताउँदै ट्रष्टका महासचिव विनेश बस्नेतले फ्लड लाइट्स सञ्चालन गर्नका लागि प्रयोग हुने जेनेरेटर समेत बिग्रिएको उल्लेख गरे ।

उक्त जेनेरेटर कोशी प्रदेश खेलकुद विकास बोर्ड मातहत रहेको छ । महासचिव बस्नेतका अनुसार हाल फ्लड लाइट्स प्रयोग गरेबापत बोर्डलाई दैनिक ५ हजार रुपैयाँ बुझाउनुपर्ने भएको छ । ट्रष्टका महासचिव बस्नेतले सरकारकै मातहतमा रहेको जेनेरेटर मर्मत गर्दै प्रयोग गर्नुपर्ने र मर्मतका लागि थप ७० हजार रुपैयाँ खर्च हुने गुनासो गरे ।

कस्ता छन् टोली ? 

झापा–११ – झापा एघार (झापा–११) विराट गोल्डकपको २०७१ सालको विजेता टोली हो । उद्योगी राजेन्द्र राउतको संयोजकत्वमा त्यतिबेला गोल्डकप आयोजना हुँदा उपाधि हात पारेको झापाले फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । त्यसैगरी, २०७२ सालमा आयोजित गोल्डकपमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसंग एक शून्य (१–० गोल अन्तर)ले पराजित हुँदा झापा–११ उपविजेतामा सीमित भएको थियो ।

चर्च ब्वाईज युनाइटेड – २०७९ सालमा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईज युनाइटेड विराट गोल्डकपको साविक उपविजेता टोली हो । तेस्रोपटक गोल्डकपमा सहभागिता जनाउन लागेको चर्च ब्वाईज अघिल्लो संस्करणमा थ्रीस्टार क्लबसँग फाइनलमा २–० गोल अन्तरले पराजित भएको थियो ।

त्रिभुवन आर्मी क्लब – विभागीय टोली त्रिभुवन आर्मी क्लब २०६८ साल यता दुईपटक विराट गोल्डकपको उपाधिनजिक पुगेको छ । २०७१ सालमा झापा–११ सँग उपाधि भिडन्तमा पराजित आर्मी २ सालमा पनि थ्री स्टार क्लबसँग ३–० को बेहोर्न बाध्य भयो । २०७४ मा उद्योगी नविन रिजालको संयोजकत्वमा पहिलोपटक दिवा तथा रात्रिकालीन खेलको सुरुवात भएको थियो । त्यसयता आर्मीले उपाधि दौडमा आफूलाई प्रस्तुत गर्न सकेको छैन । उपाधि पनि जित्न सकेको छैन ।

नेपाल पुलिस क्लब – गएको १५ वर्षमा नेपाल पुलिस क्लबले एकपटक मात्र विराट गोल्डकपको उपाधि चुम्न सफल भएको छ । तर, यसअघि महेन्द्र पुलिस क्लबको नाममा भने २०३४, २०५९, २०६० सालमा गरी तीनपटक उपाधि चुम्न सफल भइसकेको छ । अधिकांश प्रतियोगितामा सहभागिता जनाएको पुलिस क्लबले २०७२ सालमा झापा–११ लाई फाइनलमा १–० ले पराजित गर्दै उपाधि चुमेको थियो । सो खेलमा भरत साहले पुलिस क्लबका लागि खेलको ८७ औं मिनेटमा निर्णायक गोल गरेका थिए । त्यसयता पुलिस क्लबको प्रदर्शनी गोल्डकपमा बिर्सनलायक रहेको छ ।

एपीएफ एफसी – सशस्त्र प्रहरी बलको टोली एपीएफ एफसीले गएको १५ वर्षयता एकपटक उपाधि चुमेको छ । प्रतिस्पर्धात्मक बनेको २०७७–०७८ सालमा आयोजित गोल्डकपको उपाधि हात पार्ने क्रममा एपीएफ एफसीले भारतको पञ्जाव पुलिस क्लबलाई १–०ले हराएको थियो । जसमा प्रदीप लामाले खेलको १० औं मिनेटमा गरेको गोलनै अन्ततः निर्णायक बनेको थियो ।

मच्छिन्द्र फुटबल क्लब – विराटनगरका लागि मच्छिन्द्र फुटबल क्लब पनि रोजाइको क्लब हो । तर, यस क्लबले पनि २०६७ सालयता एकपटक मात्र उपाधि चुम्न सफल भएको छ । २०८० सालमा सम्पन्न गोल्डकपमा मच्छिन्द्रले सांग्रिला मोरङ एफसीलाई २–० ले हराउँदै उपाधि चुमेको थियो । गोलरक्षक विशाल श्रेष्ठको कप्तानीमा रहेको मच्छिन्द्रको जितमा छिरिङ गुरुङ र युसुप थपलियाले गोल गरेका थिए ।

अल झारखण्ड विर्षा मुन्डा एफए – गोल्डकपको पहिलो संस्करण महेन्द्र गोल्डकपका रुपमा २०१८ सालमा भएको थियो । सो संस्करणमा भारतको इलेभेन ज्वेल्सले उपाधि चुमेको थियो । त्यसयता गोल्डकपमा भारतीय टोलीहरुको पटकपटक सहभागिता रहँदै आएको छ । सोही क्रमको निरन्तरतामा यसपटक झारखण्डस्थित अल झारखण्ड विर्षा मुन्डा फुटबल एकेडेमीले भने पहिलोपटक सहभागिता जनाउँदै छ । सो एकेडेमी सन् २००९ मा स्थापना भएको हो ।

सम्राट स्पोर्टिङ क्लब विराटनगर – २०५४ सालमा स्थापित सम्राट स्पोर्टिङ क्लबले विराट गोल्डकपमा पहिलोपटक सहभागिता जनाउँदै छ । आयोजक ट्रष्टले जिल्ला लिग विजेताका रुपमा क्लबलाई सहभागिता जनाउनका लागि सहमति दिएपछि पहिलोपटक जिल्लाको स्थानीय क्लबले गोल्डकपमा सहभागिता जनाउन लागेको हो । सम्राट स्पोर्टिङ पछिल्लो आठपटकको जिल्ला लिग विजेता टोली हो । कोमल खवासको कप्तानीमा रहेको टोलीले स्तरीय प्रदर्शनसहित उपाधि हात पार्ने लक्ष्य राखेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×