
एजेन्सी । लेबनानमा इजरायलले गरेको व्यापक हवाई आक्रमणपछि मध्यपूर्व फेरि गम्भीर संकटमा फसेको छ ।
बुधबार भएको श्रृंखलाबद्ध आक्रमणमा २५० भन्दा बढी मानिसको मृत्यु भएको छ । एक हजारभन्दा बढी घाइते भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । राजधानी बेरुतसहित विभिन्न क्षेत्रमा एकैसाथ भएका विस्फोटपछि आकाश धुवाँले ढाक्दा जनजीवन अस्तव्यस्त बनेको थियो ।
लेबनानको नागरिक सुरक्षा निकायलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार आक्रमणमा कम्तीमा २५४ जनाको मृत्यु भएको छ भने एक हजार एक सयभन्दा बढी घाइते भएका छन् । यद्यपि, लेबनानको स्वास्थ्य मन्त्रालयले भने हालसम्म १८२ जनाको मृत्यु पुष्टि गर्दै यो संख्या अन्तिम नभएको स्पष्ट पारेको छ । राजधानी बेरुतमा मात्र करिब ९१ जनाको ज्यान गएको प्रारम्भिक विवरण छ ।
बुधबार दिउँसो करिब १० मिनेटको अवधिमा बेरुत, बेका उपत्यका र दक्षिणी लेबनानका विभिन्न स्थानमा एक सयभन्दा बढी हवाई आक्रमण भएको इजरायली सेनाले जनाएको छ । ती आक्रमण लक्षित सैन्य संरचना र कमान्ड केन्द्रमा गरिएको दाबी इजरायलको छ । लगातार पाँच पटकसम्म ठूलो विस्फोट भएपछि बेरुतको आकाशमा कालो धुवाँको मुस्लो फैलिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
आक्रमणपछि उद्धार कार्य अत्यन्त कठिन बनेको छ । एम्बुलेन्सको अभावका कारण घाइतेहरूलाई मोटरसाइकल र निजी सवारीसाधनमार्फत अस्पताल पुर्याइएको दृश्यमा देखिन्थ्यो । राजधानीका प्रमुख अस्पतालहरूले रगतको चरम अभाव भएको भन्दै नागरिकलाई रक्तदान गर्न सार्वजनिक अपिल गरेका छन् । कतिपय अस्पताल क्षमताभन्दा बढी बिरामीले भरिएका छन् ।
धेरै आवासीय भवनहरू ध्वस्त भएका छन् भने उद्धारकर्मीहरूले भग्नावशेषबाट सर्वसाधारणलाई निकाल्ने काम जारी राखेका छन् । केही स्थानमा क्रेनको सहायताले भवनभित्र फसेका व्यक्तिहरूलाई बाहिर निकालिएको छ । लगातारको बमबारीपछि धेरै क्षेत्रहरूमा बिजुली, पानी र सञ्चार सेवा अवरुद्ध भएको छ ।
संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले यस घटनालाई ‘अविश्वसनीय र भयावह नरसंहार’ भन्दै कडा शब्दमा निन्दा गरेका छन् । उनले नागरिक सुरक्षाको गम्भीर उल्लंघन भएको उल्लेख गर्दै तत्काल हिंसा रोक्न आग्रह गरेका छन् ।
इजरायल र हिज्बुल्लाहबीचको तनाव पछिल्ला महिनादेखि लगातार बढ्दै आएको छ । पछिल्लो आक्रमणपछि हिज्बुल्लाहले पनि उत्तरी इजरायलको मनारा क्षेत्रमा रकेट आक्रमण गरेको दाबी गरेको छ । समूहले जारी गरेको विज्ञप्तिमा इजरायल–अमेरिकी आक्रमण नरोकिएसम्म प्रतिकार जारी रहने चेतावनी दिइएको छ ।
यसैबीच, क्षेत्रीय युद्धविराम प्रयासहरूमा गम्भीर चुनौती देखिएको छ । अन्तर्राष्ट्रिय कूटनीतिक प्रयासबीच पनि दुवै पक्षबीच आक्रमण र प्रत्याक्रमण जारी रहँदा स्थायी शान्तिको सम्भावना कमजोर बन्दै गएको विश्लेषण गरिएको छ । संयुक्त राष्ट्रसंघका लेबनानस्थित मानवीय सहायता अधिकारी इमरान रिजाले आक्रमणको तीव्र निन्दा गर्दै तत्काल युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन् ।
उनका अनुसार आक्रमणका क्रममा लगातार घण्टौँसम्म विस्फोटको आवाज सुनिएको थियो । अस्पतालहरू अत्यधिक दबाबमा परेका छन् । उनले हजारौँ मानिस घाइते वा मारिएको आशंका व्यक्त गर्दै मानवीय संकट गहिरिँदै गएको बताए । करिब बाह्र लाख मानिस विस्थापित भएको प्रारम्भिक विवरण पनि सार्वजनिक भएको छ । जुन लेबनानको कुल जनसंख्याको ठूलो हिस्सा हो ।
विस्थापितमध्ये लाखौँ मानिसले अस्थायी शिविर र विद्यालय भवनहरूमा शरण लिएका छन् । धेरैजसो आधारभूत सेवा बिना कठिन जीवन बिताइरहेका छन् । खानेपानी, औषधि र स्वास्थ्य सेवाको अभावले अवस्था झनै जटिल बनाएको छ ।
इजरायली पक्षले भने आफ्ना आक्रमणहरूलाई ‘सैन्य संरचनामाथिको लक्षित कारबाही’ भनेको छ । तर, लेबनानले भने यसलाई नागरिकमाथिको प्रत्यक्ष हमला भन्दै अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको आरोप लगाएको छ ।
दुई पक्षबीचको हिंसात्मक द्वन्द्वले सम्पूर्ण क्षेत्रलाई अस्थिर बनाएको छ । कूटनीतिक प्रयासहरू जारी भए पनि तत्काल शान्ति स्थापना हुने संकेत देखिएको छैन । संयुक्त राष्ट्रसंघले दुवै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्न र नागरिक सुरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह गरेको छ ।
यस घटनाले मध्यपूर्वमा थप ठूलो युद्धको जोखिम बढाएको विश्लेषकहरूले विश्लेषण छ । लगातार बढ्दो हिंसाबीच लेबनान गहिरो मानवीय संकटमा फस्दै गएको छ । क्षेत्रीय तनाव उत्कर्षमा पुग्दा उद्धार, उपचार र पुनर्निर्माण सबै चुनौतीपूर्ण बन्दै गएका छन् ।



















