
इस्लामावाद । लामो समयदेखि जारी तनाव र द्वन्द्व अन्त्यका लागि अमेरिका र इरानबीच शनिबार पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता हुँदैछ। यस वार्तालाई पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले स्थायी युद्धविरामतर्फको एउटा ‘कठिन कदम’ का रूपमा चित्रण गरेका छन्।
वार्ताका लागि इरानी संसदका सभामुख मोहम्मद बाकर गालिबाफको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल शुक्रबार राति नै इस्लामावाद पुगिसकेको छ। नूर खान विमानस्थलमा अवतरण गरेको इरानी टोलीलाई पाकिस्तानका उप–परराष्ट्र मन्त्री इसहाक डार र फिल्ड मार्सल आसिम मुनीरले स्वागत गरेका थिए। इरानी टोलीमा परराष्ट्र मन्त्री अब्बास अराघचीसमेत सहभागी छन्।
यता, अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले यस निर्णायक वार्ताका लागि भान्सका साथै आफ्ना मध्यपूर्व दूत स्टिभ विटकफ र जेरेड कुशनरलाई छनोट गरेका छन्। मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानका प्रधानमन्त्री सरिफले शुक्रबार राति एक सन्देश जारी गर्दै वार्ता सफल बनाउन आफ्नो देशले पूर्ण इमान्दारीका साथ प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पछिल्लो एक वर्षमा भएका दुईवटा वार्ता प्रयासहरू परिणाममुखी हुन नसकेको र दुवै देशबीच गहिरो अविश्वास रहेको पृष्ठभूमिमा यो संवाद सुरु हुन लागेको हो। इरानले आफ्ना प्रभावशाली सभामुख र अनुभवी परराष्ट्र मन्त्रीलाई पठाउनु र अमेरिकाले उपराष्ट्रपतिका साथै ट्रम्पका विश्वासपात्र कुशनरलाई खटाउनुले यस वार्तालाई दुवै पक्षले निकै गम्भीरतापूर्वक लिएको देखिन्छ। विश्लेषकहरूले यसपटकको वार्ताले क्षेत्रीय शान्तिमा कस्तो प्रभाव पार्ला भन्ने विषयलाई चासोका साथ हेरिरहेका छन्।



















