निर्माण आयोजनामा सुरक्षा र सामग्रीको सुनिश्चितता गर्न व्यवसायीको माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २९, आइतबार १७:५२

धादिङ। निर्माणाधीन नागढुङ्गा–मुग्लिङ सडकको अनुगमनमा निस्किएका गृहमन्त्री सुधन गुरुङसँग निर्माण व्यवसायीहरूले सुरक्षाको माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काले विभिन्न बहानामा स्थानीय स्तरमा हुने अवरोधले आयोजनाहरू प्रभावित भइरहेको भन्दै देशभरका आयोजनामा सुरक्षा ग्यारेन्टी गर्न माग गरेका हुन् ।

उपाध्यक्ष खड्काले आयोजनामा अनधिकृत रूपमा काम रोक्न आउनेहरूलाई सार्वजनिक मुद्दा लगाएर कारबाही गर्नुपर्नेमा जोड दिए । उनले निर्माण सामग्रीको अभाव र उत्खननमा भोग्नुपरेका कानुनी झमेलाबारे गृहमन्त्रीलाई जानकारी गराउँदै सरकारले तोकेको क्षेत्रबाट सहज रूपमा नदीजन्य सामग्री उपलब्ध गराउन आग्रह गरे । आफ्नो निजी जग्गामा समेत सामग्री उत्खनन गर्दा मुद्दा लड्नुपर्ने अवस्था रहेको भन्दै उनले क्रसर उद्योगहरू चल्ने वातावरण बनाउन र बिटुमिन तथा पेट्रोलियम पदार्थको सहज आपूर्ति गरिदिन सरकारको ध्यानाकर्षण गराए ।

Advertisement

गृहमन्त्री गुरुङले व्यवसायीहरूबाट अनावश्यक पैसा असुल्ने र धरपकड गर्ने कार्य सह्य नहुने बताए । उनले पूर्वाधार निर्माणमा खटिएका व्यवसायीहरूलाई दुःख दिने कार्य तत्काल रोक्न प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् । गुणस्तरीय काम समयमै सम्पन्न गर्न सरकारले आवश्यक सुरक्षा र समन्वय गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.