
विराटनगर । विराटनगरमा सम्पन्न ५ औँ इक्युवालिटी कप क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर हबले जितेको छ ।
नेपाल क्रिकेट फाउण्डेसनले आयोजनामा गरेको प्रतियोगितामा विराटनगर हबले राजविराज हबलाई ११ रनले पराजित गर्दै उपाधि उचालेको हो । टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा १८ दशमलव ५ बलमा सबै विकेटको क्षतिमा ९७ रन बनाएको थियो ।
विराटनगरकी टीका साहले ३० रन बनाउँदा शुभेच्क्षा लिम्बूले १७ रन बनाइन् । राजविराजकी दीपा रामले २ विकेट लिँदा बन्धना रजकले पनि २ विकेट लिइन् ।
९८ रनको लक्ष्य पाएको राजविराजले पूरै ओभर खेल्दै ६ विकेटकाे क्षतिमा ८६ रनमै समेटियाे । राजविराजकी कप्तान साक्षी यादवले अविजित ४८ रन बनाउँदा साक्षी देवले १३ रनको योगदान गरिन् । विराटनगरकी प्लेयर अफ फाइनल समीक्षा राईले ३ विकेट लिँदा शुभेच्क्षा लिम्बू, सानु राजवंशी र सम्रिका गौतमले १–१ विकेट लिए ।
प्रतियोगिताको प्लेयर अफ दी सिरिज राजविराजकी साक्षी यादव घोषित भइन् । त्यस्तै, उत्कृष्ट ब्याटर पनि साक्षी यादव हुँदा उत्कृष्ट बलर विराटनगरकी शुभेच्क्षा लिम्बू घोषित भइन् ।
चैत २७ गतदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशको विराटनगर हब, एनसीएफ–११ र मधेश प्रदेशको राजविराज तथा सिरहा सहभागी भएका थिए । विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि कोशी क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे, नेपाल क्रिकेट संघकी पूर्वकेन्द्रीय सदस्य जिना श्रेष्ठ र नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठलगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका छन् ।



















