विराट गोल्डकपः पाहुना टोलीलाई हराउँदै घरेलु टोली सेमिफाइनलमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २, बुधबार ००:०८
विराट गोल्डकपः भारतीय टोलीलाई हराउँदै घरेलु टोली सम्राट सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति सम्पन्न खेलमा पाहुना टोली भारत झारखण्डको बिर्सा मुन्डा स्पोर्ट्स एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सम्राटले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

Advertisement

सहिद रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता भने पाहुना टोलीले लिएको थियो । खेलको ४४ औँ मिनेटमा शंकर किस्कुले गोल गर्दै झारखण्डलाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको सम्राटले दोस्रो हाफमा आक्रामक खेल पस्कँदै उत्कृष्ट पुनरागमन गर्‍यो ।

खेलको ५० औँ मिनेटमा सम्राटका मौसम लिम्बूले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । उनले सौरव तामाङको क्रस पासलाई डिबक्स भित्रबाट जाली चुमाएका थिए । खेलको अन्तिम समयतिर सम्राट थप हाबी भयो । ८६ औँ मिनेटमा प्रताप तामाङले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए । खेलको अतिरिक्त (इन्जुरी) समयमा प्रतापले नै व्यक्तिगत दोस्रो गोल गर्दै सम्राटको ३–१ को जित सुनिश्चित गरे ।

दुई गोल गरेका प्रताप तामाङ खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

खेल अवधिभर सम्राटले गोलका थुप्रै अवसरहरू सिर्जना गरे पनि सदुपयोग गर्न सकेको थिएन । ५९ औँ मिनेटमा सौरव तामाङ र ६७ औँ मिनेटमा कप्तान अशोक खवासको प्रहार लक्ष्यभन्दा बाहिरिएको थियो भने ७० औँ मिनेटमा कोमल खवासको प्रहारलाई झारखण्डका गोलकिपर मनोज मन्डाइले उत्कृष्ट बचाउ गरेका थिए ।

अब सम्राट स्पोर्टिङ क्लबले फाइनल प्रवेशका लागि वैशाख ३ गते चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
विराट गोल्डकप ट्रस्टका प्रवक्ता धनकुमार लामाका अनुसार प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल हुनेछ । जसमा दुई पूर्व विजेता टोलीहरू नेपाल पुलिस क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.