सांकेतिक फोटो ।एजेन्सी । अमेरिका र इरानबीच पुनः वार्ता सुरु गर्ने तयारी भइरहेका बेला क्षेत्रीय तनाव भने अझै घटेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई दिनभित्रै इरानसँग नयाँ चरणको वार्ता हुनसक्ने संकेत गरेका छन् ।
पछिल्लो समय बढ्दै गएको कूटनीतिक तिक्ततालाई कम गर्ने उद्देश्यले वार्ताको पहल अघि बढाइएको हो । पाकिस्तानले दुई देशबीच हुने सम्भावित संवादको आतिथ्यता गर्न प्रस्ताव राखेको छ ।
पाकिस्तान विदेश मन्त्रालय सम्बद्ध स्रोतका अनुसार इस्लामाबादले वार्ता सहज बनाउन आफ्नो भूमि उपलब्ध गराउन तयार रहेको जनाएको छ । यदि यो वार्ता सफलतापूर्वक सम्पन्न भएमा यसलाई मध्यपूर्वको सुरक्षा र विश्व राजनीतिमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिने छ ।
यसअघि भएको वार्ता निष्कर्षमा पुग्न सकेको थिएन । तेहरानका अधिकारीहरूले अमेरिकी पक्षको अत्यधिक माग र राजनीतिक इच्छाशक्तिको अभावका कारण सहमति हुन नसकेको बताएका थिए ।
वासिङ्टनले भने इरान अझै पनि सम्झौताका लागि इच्छुक रहेको दाबी गर्दै आएको छ । दुई देशबीच विशेषगरी आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धका विषयमा लामो समयदेखि विवाद जारी छ ।
यसैबीच, समुद्री क्षेत्रमा पनि तनाव स्पष्ट देखिएको छ । अमेरिकी नाकाबन्दीका बाबजुद इरानसँग सम्बन्धित जहाजहरूले होर्मुज जलडमरूमध्य पार गरिरहेका छन् । समुद्री ट्र्याकिङ डाटाका अनुसार अमेरिकी नाकाबन्दी लागू भएलगत्तै कम्तीमा चार जहाजले उक्त मार्ग प्रयोग गरेका थिए ।
तीमध्ये एक जहाजले इरानको इमाम खोमेनी बन्दरगाहमा ठूलो परिमाणमा मकै उतारेर जलडमरूमध्य पार गरेको थियो भने अर्को ट्याकरले बुसेहर बन्दरगाहबाट मेथनोल बोकेर सोही मार्ग पार गरेको देखिएको छ । अन्य जहाजहरू पनि लारक टापु आसपासबाट आवतजावत गरिरहेका छन् ।
अमेरिकी सेनाले नाकाबन्दी लागू गर्दा इरानी बन्दरगाहमा प्रवेश गर्ने वा त्यहाँबाट निस्कने सबै जहाजलाई लक्षित गर्ने चेतावनी दिएको थियो । तर, व्यवहारमा भने विभिन्न देशका जहाजहरूले उक्त मार्ग प्रयोग गरिरहेको देखिएको छ । यसले नाकाबन्दीको प्रभाव कमजोर रहेको देखाउँछ ।
चीनले भने अमेरिकाको कदमप्रति कडा प्रतिक्रिया जनाएको छ । चीन विदेश मन्त्रालयका प्रवक्ताले यसलाई खतरनाक र गैरजिम्मेवारपूर्ण कदमको संज्ञा दिएका छन् । हालको अवस्था क्षेत्रीय शक्ति सन्तुलनमा नयाँ चुनौतीका रूपमा देखा परेको छ ।
एकातिर कूटनीतिक संवादको प्रयास भइरहेको छ भने अर्कोतिर समुद्री मार्गमा बढ्दो गतिविधिले तनाव अझै चर्किएको संकेत दिएको छ । यसले विश्वव्यापी व्यापार, ऊर्जा आपूर्ति र सुरक्षामा प्रत्यक्ष असर पार्ने सम्भावना देखिएको छ ।



















