
विराटनगर । झापा ११ विराटनगरमा जारी ‘नोबेल विराट गोल्डकप’ को ३८ औ संस्करणकाे फाइनलमा प्रवेश गरेको छ ।
विराटनगरस्थित शहीद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले स्तब्ध पार्दै झापाले उपाधि भिडन्त पक्का गरेको हो ।
झापाको जितमा फागुराम थारूले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ६७ औं मिनेटमा ‘सेकेन्ड बार’ च्यापेर गरेको कडा प्रहारले जाली चुमाउँदा झापाको जित सुनिश्चित भएको थियो ।
यस जितसँगै झापाले १० वर्षअघिको बदला समेत लिएको छ । २०७२ सालमा भएको विराट गोल्डकपको फाइनलमा झापा र पुलिस नै भिडेका थिए, जहाँ पुलिसले झापालाई १–० ले नै हराउँदै उपाधि जितेको थियो ।
१० वर्षपछि सोही मैदान र सोही स्कोरमा पुलिसलाई पाखा लगाउँदै झापाले फाइनल यात्रा तय गरेको हो । खेलको प्यलेर अफ द म्याद झापा ११ का स्वलोमन किङ घोषित भए । उनले नगद ११ हजार पाए ।
खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । सुरुवाती समयमा पुलिसले झापालाई दबाबमा राखे पनि आधा दर्जनभन्दा बढी अवसरलाई सदुपयोग गर्न सकेन । १८ औं मिनेटमा पुलिसका सञ्जीव लामाको प्रहार बाहिरिएको थियो भने लगत्तै प्रज्वल चौधरीको प्रहारले पनि दिशा लिन सकेन । २८ औं मिनेटमा सञ्जीव लामाले डिबक्स भित्रबाट गरेको कडा प्रहार बारमा लागेर फर्किएको थियो । ४० औं मिनेटमा धीरेन्द्र शाहको प्रहार पनि विफल हुँदा पुलिस अग्रता लिनबाट चुक्यो ।
झापाले अब उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो सेमिफाइनलमा घरेलु टोली सम्राट स्पोट्र्स क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । चर्च ब्वाइजले विभागीय टोली एपीएफलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो भने सम्राट स्पोट्र्सले भारतको बिरसामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।



















