
सुनसरी । १६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड विजयी भएको छ ।
बिहीबार राति सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा युनाइटेड खर्साङ फुटबल क्लब युकेएफसीलाई ३–१ गेल अन्तरले पारजित गर्दै प्लानिङ ब्वाइज अन्तिम चारमा प्रवेश गरेको हो । बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइजको जीतमा कप्तान फागुराम थारुले २ तथा धीरेन्द्र शाहले १ गोल गरे ।
खेलको पाँचौं मिनेटमा फागुरामले पेनाल्टीमार्फत गोल गरेर टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । युकेएफसीका दिवश रोयले धीरेन्द्रलाई डी–एरियामा फउल गरेपछि फिफा रेफ्री उमेश बिडारीले प्लानिङ ब्वाइजलाई पेनाल्टी प्रहार गर्ने अवसर दिएका थिए । उक्त अवशरलाई फागुरामले सहजै गोलमा परिणत गरे ।
२३ औं मिनेटमा फागुरामले दोस्रो गोल गरे । उनले विपक्षी गोलकिपरलाई बिट गर्दै सहजै गोल गरेका थिए । २७ औं मिनेटमा डिफेण्डरको कमजोरीको फाइदा उठाउँदै धीरेन्द्रले गोल परेपछि पहिलो हाफमै टिमले ३–० को अग्रता लिएको थियो । खेलको ५९ औं मिनेटमा युकेएफसीका निवास राणाले १ गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन ।
फागुराम खेलको प्लेयर अफ दी म्याच घोषित हँुदै नगद १० हजार हात पार्न सफल भए । शुक्रबारको पहिलो सेमिफाइनलमा युवा समाज र साबिक विजेता मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल वैशाख ७ गते हुनेछ । फाइनल विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।



















